काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा पुर्याइएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा सहकारीको रकम ठगी गरेको कसुरमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि लामिछाने कारागार चलान भएका हुन् ।
शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल भैरहवा ल्याइएको थियो ।
त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । सरकारी विदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देहीमा थुनुवा पुर्जी जारी गरी भैरहवा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । अदालतको अन्तिम फैसला नआउन्जेल उनी सोही कारागारमा रहनेछन् ।
उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले गत शुक्रबार लामिछानेलाई थुनामा राख्ने आदेश दिएका थिए । जिल्ला अदालत रुपन्देहीले यसअघि उनलाई १ करोड रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको थियो, तर उक्त आदेश उच्च अदालतले बदर गरिदिएको हो ।
उच्च अदालतले धरौटी वा थुनाको निर्णय मुद्दाको प्रकृति, घटनाको परिस्थिति र पीडितको अवस्थालाई आधार मानेर गर्नुपर्ने व्याख्या गरेको छ । सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि हाल भैरहवा कारागारमै छन् ।
लामिछानेले जिल्ला अदालतको १ करोड धरौटी माग्ने आदेशमा चित्त नबुझाएर उच्च अदालतमा निवेदन दिएका थिए तर उच्च अदालतको थुनामा राख्ने आदेशसँगै उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्