सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा संखुवासभा र भोजपुरमा कृषि बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ। संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिला र कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा छुट्टाछुट्टै मितिमा कार्यक्रम सम्पन्न भएका हुन्।

चैत्र १९ गते संखुवासभाको पाँचखपन नगरपालिकामा सम्पन्न कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम सञ्चालन खादबारी शाखाका प्रमुख दुर्गा प्रसाद गौतमले गरेका थिए।

कार्यक्रममा कृषि तथा पशुपन्छी बिमा प्रक्रिया, दाबी सम्बन्धी प्रक्रिया, नयाँ सफ्टवेयरको प्रयोग तथा अभिकर्ता र प्रविधिकहरूको भूमिकाबारे कम्पनीका कृषि तथा पशुपन्छी विभाग प्रमुख उमेश ढकालले विस्तृत जानकारी दिए । कार्यक्रममा ५३ जना सहभागी थिए।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले प्रत्येक किसानलाई बिमा प्रणालीमा आवद्ध गराउनुपर्नेमा जोड दिँदै पालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश प्रमुख नारायण गौतमले कम्पनीले बीमाको पहुँच बढाउँदै किसानसम्म सेवा पुर्‍याउने उद्देश्य रहेको जानकारी गराए । सहभागी किसानहरूले बिमा आजको आवश्यकता भएको र यस्ता कार्यक्रमले उनीहरूमा स्पष्टता आएको प्रतिक्रिया दिएका थिए।

यसैबिच चैत्र १७ गते भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र कुमार तामाङ्गको प्रमुख आतिथ्य, कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा भोजपुर शाखा प्रमुख सन्तोष तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले बिमा गर्ने तरिका, स्थान, कारण र क्षतिपूर्तिको प्रक्रिया लगायतका विषयमा जानकारी दिए । वडा सदस्य, नगर कार्यपालिका सदस्य, कृषक तथा कर्मचारी गरी ६५ जना सहभागी थिए।

त्यस्तै चैत्र १८ गते कृषि ज्ञान केन्द्र भोजपुरको सभाहलमा सम्पन्न कार्यक्रममा केन्द्र प्रमुख मुकेश कुमार यादवको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष फडिन्द्र प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश प्रमुख नारायण गौतम विशेष अतिथिका रूपमा सहभागी भएका थिए । सहभागी ४० जनालाई कृषि, पशुपन्छी तथा जीवन बिमाका विभिन्न आयाम, प्रचलित बीमालेख, प्रिमियममा उपलब्ध सरकारी अनुदान, जोखिमको सीमा, दाबी भुक्तानीका लागि आवश्यक कागजातहरू र सफ्टवेयर प्रणालीमार्फत बिमा गर्ने प्रक्रिया बारेमा विभाग प्रमुख उमेश ढकालले जानकारी दिए ।

उक्त सबै कार्यक्रममा सहभागीहरूले बीमाले कृषकलाई आर्थिक सुरक्षाको आधार प्रदान गर्ने भन्दै नियमित बिमाको अभ्यासले व्यावसायिक कृषि प्रणालीमा टेवा पुर्‍याउने धारणा व्यक्त गरेका थिए।