काठमाडौँ । नर्सरी व्यवसायी संघको आयोजनामा दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ हुने भएको छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने मुल नाराका साथ आउँदो चैत्र २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त एक्स्पो हुने भएको हो ।
मेला संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतम अनुसार यस मेलामा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटविरुवाहरू बिक्री वितरणको लागि राखिने छ ।
मलखाद, अर्ग्यानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने आयोजकले जनाएको छ । मेलामा ७० ओटा व्यवसायिक स्टल, ३ ओटा फुड स्टल, ८ ओटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ ओटा स्टल समेत गरि जम्मा ८६ ओटा स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको रहेको छ ।
त्यस्तै मेला अवलोकन गर्न सर्वसाधरणको लागि प्रवेश शुल्क प्रति व्यक्ति सय रुपैँया र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाा व्यवस्था गरिएको मेला संयोजक गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्