आठ महिनामा १० खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो


काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) मा १० खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०८१\८२ को आठ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैँया रेमिट्यान्स भित्रिएको हो । त्यस्तै चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढीले रेमिट्यान्स आएको छ ।

चालु आर्थिक वर्षको रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख गरेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो। यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।

वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए। त्यस्तै पुन श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ८२ हजार ७८३ थियो ।

फागुसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४०३ रहेको छ ।