अर्थतन्त्र सुधारका प्रयासहरु सकारात्मक छन् तर यतिले मात्रै पुग्दैनः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरुको चाहना पूरा गर्न पर्याप्त नरहेको बताएका छन् । 

बिहीवार महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रतिकुलतामा अनुकुलता खोज्ने उद्यमी रहेको जिकिर गर्दै देशमै आशा जगाउनका लागि काम गरिरहेको बताए ।

उनले देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न नसकेसम्म निराशालाई आशामा बदल्न नसकिने बताए ।

रोजगारी प्रदान गर्न सरकारको सिमितता रहेको भन्दै अहिले करिव पाँच लाख जनशक्तिलाई सरकारले रोजगारी दिएको उनले उल्लेख गरे ।

निजी क्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिएको भएपनि हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने करिव पाँच लाख युवालाई रोजगारी दिनसक्ने क्षमता नेपालको निजी क्षेत्रमा पनि नरहेको उनले जिकिर गरे ।

अध्यक्ष ढकालले अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रलाई निर्वाध काम गर्न दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले वर्तमान सरकारको मुख्य एजेण्डा नै समृद्ध नेपाल, सुखी नेपाली भएको उल्लेख गर्दै मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु रहेको बताए । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी जरुरी हुने उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले अहिले अवस्था असहज छ तर सुधार असम्भव नरहेको बताए ।

अर्थतन्त्र, विकास र सम्मृद्धिमा राजनितिक दलहरुको साझा धारणा बनाउन सक्नुपर्ने उनकाे भनाइ छ ।

निजी क्षेत्रको उद्यम व्यवसाय र सर्वसाधारणको जीविकामा प्रतिकुल असर पर्ने काम राजनीतिक नेतृत्वबाट हुनु नहुने उनले बताए । उनले अब आर्थिक सम्मृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताएका छन् ।