काठमाडाैँ । परम्परागत पेय पदार्थ ‘मोही’लाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल डेरी एसोसिएसनले हरेक वर्ष चैत २८ गते राष्ट्रिय मोही दिवसकाे रूपमा मनाउने घाेषणा गरेकाे छ। ‘नियमित मोही सेवन: स्वस्थ र फूर्तिलो जीवन’ भन्ने नाराका साथ एसाेसिएसनले आज काठमाडाैँमा एक कार्यक्रम गरि शुभारम्भ गर्दै अब हरेक वर्षकाे चैत २८ लाई माेही दिवसकाे रूपमा मनाउने घाेषणा गरेकाे हाे ।
नेपाल डेरी एसोसिएसनले लामो समयदेखि मोही, लस्सी, दही, आइसक्रिम जस्ता परम्परागत दुग्धजन्य पेय पदार्थको प्रवर्द्धनमा अग्रसर हुँदै आएको छ। आफ्ना प्रत्येक कार्यक्रममा अन्य कृत्रिम पेयको सट्टा मोही जस्ता स्वदेशी पेय पदार्थको सेवा गर्दै आएको एसोसिएसनले पछिल्लो दुई वर्षदेखि अस्पताल, विद्यालय, सामाजिक संस्थामा निःशुल्क मोही वितरण कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ।
दरबारमार्गस्थित ओरियन्ट क्याफेमा हरेक शनिबार बिहान ७ देखि ११ बजेसम्म वितरण हुने यो मोही अभियानबाट हालसम्म २५ हजार लिटर मोही झन्डै दुई लाख जनालाई खुवाइएको एसाेसिएनसले जनाएकाे छ । एसोसिएसनका अध्यक्ष तथा मोही अभियन्ता प्रल्हाद दाहालले मोहीलाई एक लुकेको परम्परागत पेयबाट सबैका सामु गर्वका साथ पस्कन सकिने स्वास्थ्यवर्द्धक पेय बनाउने अभियान सफल हुँदै गएको बताए।
उनका अनुसार अहिले दुई दर्जनभन्दा बढी डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङसहित बजारमा ल्याएका छन्। ‘सञ्जिवनी’ ब्रान्डमार्फत कास्कीको बजगाईं डेरीले उपत्यका बाहिर मोही बजारमा ल्याएको हो भने, उपत्यकाभित्र ‘प्रभात मोही’मार्फत नवप्रभात डेरीले यसको सुरुवात गरेको थियो। हाल दैनिक झन्डै २५ हजार लिटर मोही बजारमा खपत हुँदै आएको छ भने अनौपचारिक रूपमा उपभोग हुने मोहीको मात्रा झण्डै एक लाख लिटर रहेको एसाेसिएसनकाे अनुमान छ।
कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रबन्धक पशुपति ढुंगानाले हाल उत्पादित दूधको पूर्ण खपत हुन नसकेको अवस्थामा मोहीजस्तै अन्य दुग्ध उत्पादनलाई विकल्पका रूपमा विकास गर्न सकिने बताउँदै भविष्यमा संस्थानले यसतर्फ ध्यान केन्द्रित गर्ने बताए।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले मोहीको स्वास्थ्य लाभको बारेमा आफ्ना विचार व्यक्त गर्दै यसले डेरी क्षेत्रका समस्याहरूको समाधानमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले मोहीको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउँदै यसलाई सबैले आफ्नो दैनिक आहारमा समावेश गर्नु आवश्यक भएको बताए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले डेरी एसोसिएसनले सञ्चालन गरेको मोही अभियानले सार्थकता पाउँदै गएको उल्लेख गर्दै यो अभियान अब देशव्यापी रूपमा फैलिने विश्वास व्यक्त गरे। उनले हल्का ठट्टात्मक शैलीमा ‘अब चिया कफी खाएर मात्रै होइन, मोही खाएर पनि छलफल गर्ने’ संस्कृतिको सुरुवात आवश्यक भएको बताए।
मोही अब गाउँघरको सीमितताबाट निस्केर शहरी जीवनशैलीसँग मिसिएको, स्वास्थ्यप्रद र गर्वका साथ पस्कन सकिने पेयको रूपमा विकसित हुँदैछ। चितवनको इच्छामनकामना गाउँपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिका जस्ता स्थानीय तहहरूले समेत मोही प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गरिरहेका एसाेसिएसनले जनाएकाे छ ।
यस कार्यक्रमलाई डेरी एसोसिएसनको नेतृत्वमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, एसाेसिएसन अफ नेपाली एग्रीकल्चरल र्जालिस्ट्स (अनाज), दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, कृषि उद्यम केन्द्र (एफएनसीसीआई), केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ, कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्