काठमाडौँ । पर्यटन प्रवद्र्धनलाई बढावा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ ।
पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको झन्झट रहित आवागमनको व्यवस्था मिलाएको हो ।
घुम्न आउने पर्यटकको सुरक्षा जाँच, सवारी प्रवेश पास र कर शुल्कलाई झन्झट रहित बनाउन सवारीसाधनमा स्टिकर अभियानलाई प्रदेश सरकारले अघि बढाएको छ ।
स्थानीय तह सँगको समन्वयमा ठाउँ नै पिच्छे लिइँदै आएको कर हटाइने जनाएको प्रदेश सरकारले भ्रमण वर्ष २०८२ अवधिभर भारतीय पर्यटक सवार सवारीसाधनको हकमा अनावश्यक चेकजाँच नहुने जनाएको छ ।
भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकाहरु मोरङको रानी सहित सुनसरीको कोशी ब्यारेज, झापा र पशुपति नगरमा पर्यटक लक्षित डेस्क स्थापना गरी यात्रा सहजीकरणको अभियानलाई अघि बढाइएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बताए।
डेस्कमार्फत एकै स्थानमा एकै पटक जाँच सहितका सबै प्रक्रिया पूरा गरी सवारीसाधनमा स्टिकर टाँसिने मन्त्री मण्डलले बताए । स्टिकर टाँस गरिएका पर्यटक सवार सवारीसाधनको हकमा गन्तव्य सम्म पुगेर नफर्किएसम्म सुरक्षा सम्वेदनशीलता बाहेकको हकमा कहीँकतै रोकतोक र बाधा अवरोध हुनेछैन ।
कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउँदैछ । प्रदेश भित्रका रमणीय स्थानहरुको प्रर्वद्धन गरी १६ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ ।
सोही अनुरुप पर्यटकको यात्रा सहज र झन्झट रहित बनाउने उद्देश्यसाथ भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा नेपाली पक्षले डेस्क स्थापना गरी स्टिकर टाँसको अभियानलाई अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्