१ करोड २५ लाखको कारोबारसहित दोस्रो हर्टिकल्चर मेला सम्पन्न


काठमाडौँ । १ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित दोस्रो नेशनल हर्टिकल्चर मेला २०८१ सफलतापूर्वक सम्पन्न भएको छ।

नर्सरी व्यवसायी संघ नेपालले चैत्र २८ गते बिहीबारदेखि ३१ गते आइतबारसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चारदिने मेलामा उल्लेख्य व्यापार भएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए।

“दोस्रो हर्टिकल्चर एक्स्पो हामीले अपेक्षा गरेभन्दा निकै सफल रह्यो,” संयोजक गौतमले भने, “सबै प्रकारका बोटबिरुवा, कृषि औजार, मल–विषादी तथा परामर्श सेवा एउटै ठाउँमा उपलब्ध भएकाले मेलाप्रति सर्वसाधारणको आकर्षण बढेको हो।”

संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले नर्सरी व्यवसायीहरूले आफ्ना उत्पादन प्रदर्शन गर्न पाउने र बोटबिरुवा मन पराउने उपभोक्ताहरूका लागि मेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

“कृषि, वन, जडीबुटी र फलफूलका विभिन्न प्रजातिका प्रदर्शनी हुँदा मेलामा आउनेको संख्या पनि क्रमशः बढेको छ,” अध्यक्ष तिमिल्सिनाले भने, “आर्थिक समृद्धिको लागि यस्ता एक्सपोहरू निरन्तर आयोजना गरिरहने योजना छ।”

चार दिनसम्म सञ्चालन भएको मेलामा ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ। बोटबिरुवाको प्रदर्शनीमा राखिएका सामग्रीप्रति उपभोक्ताको ठूलो चासो देखिएको र खोजीखोजी स्टलसम्म आएर खरिद गर्दा व्यवसायीहरू अत्यन्तै उत्साहित भएका थिए।

मेलामा देशभरिबाट पुष्प, फलफूल, कृषि बन र जडीबुटी नर्सरीका ७०० भन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको थियो। मल–विषादी, बीउ–विजन, गमला, औजार र प्रविधिसम्बन्धी सामग्रीहरू पनि प्रदर्शनीमा समावेश थिए।

एक्सपोमा ७४ वटा व्यावसायिक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल र ५ वटा प्रतियोगितात्मक स्टलहरू रहेका थिए। मेला अवलोकनका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क रु १०० र विद्यार्थी तथा जेष्ठ नागरिकका लागि रु ५० तोकिएको थियो।

पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग पुल्चोक, र बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय एक्सपोका सह–आयोजक थिए।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नाराका साथ संघले दोस्रो हर्टिकल्चर एक्सपोसँगै तिहार फ्लोरा एक्सपो समेत गरी चार वटा मेला सम्पन्न गरिसकेको छ।