सुशासनयुक्त सेवा प्रवाह गर्न मन्त्री दाहालको आग्रह


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सुशासनयुक्त सेवा प्रवाह गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्।

नेपाल निजामति कर्मचारी संगठनको मन्त्रालय स्तरीय विभागीय समितिले मंगलबार आयोजना गरेको शुभकामना कार्यक्रममा उनले सरकारको कार्य सम्पादन र प्रभाव कर्मचारीको सेवा प्रवाहमा निर्भर हुने भएकाले छिटो, छरितो र सुशासनयुक्त सेवा दिन आग्रह गरेका हुन्।

त्यस क्रममा उनले कर्मचारीहरूको वृति विकास र सुविधालाई सरकारले प्राथमिकता दिने उल्लेख गर्दै राज्यले दिएको जिम्मेवारी समेत नभुल्न सुझाव दिए । विकास निर्माणलाई प्रभावकारी र द्रुत बनाउने बेला आएको भन्दै राजनीतिक नेतृत्वले मात्र नभई प्रशासनिक नेतृत्व र कर्मचारीहरूको समेत संयुक्त प्रयासले मात्र सो सम्भव हुने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माण, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्नु पर्नेमा जोड दिए । सोहि कार्यक्रममा संगठनको विभागीय समितिले प्रकाशन गरेको क्यालेन्डर सार्वजनिक गरियो भने संगठनको गत फागुनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित समितिलाई सम्मान सहित बधाई ज्ञापन गरिएको थियो ।

विभागीय समितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भवानी दाहाल सहितका कर्मचारी नेताहरुले आफ्नो धारणा राखेका थिए ।