कुकुर बिराला दर्ता गरेर मात्र पाल्न काठमाडौँ महानगरको आग्रह


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालासम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै सबैलाई आफ्ना घरपालुवा जनावर अनिवार्य रूपमा माइक्रोचिप लगाई दर्ता गर्न निर्देशन दिएको छ। जनावर चोरी, हराउने र छाडा छोडिने घटनामा वृद्धि भएपछि महानगरले यस्तो निर्णय लिएको हो।

महानगर क्षेत्रभित्र कुकुर र बिराला चोरी भएका, हराएका वा नियन्त्रणबिनै सडकमा हिँडिरहेका विषयमा लगातार जनगुनासो आउन थालेपछि महानगरले त्यसलाई व्यवस्थित गर्न नयाँ मापदण्ड लागू गरेको हो।

अबदेखि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुकुर वा बिराला पाल्ने जो कोहीले आफ्नो जनावरलाई माइक्रोचिपिङ गराएर सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नुपर्नेछ। माइक्रोचिपिङ प्रणालीमार्फत जनावरको पहिचान सजिलो हुने र कुनै पनि आपत् परेमा मालिकलाई पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ।