एफइएसजीइ उपाधी प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक बने डा. झा


काठमाडाैँ । नेपाली चिकित्सक डा. राकेश कुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपी (ईएसजीई) बाट ‘फेलो अफ ईएसजीई’ (एफइएसजीइ) उपाधी प्राप्त गरेर इतिहास रचेका छन्। उनी यो प्रतिष्ठित उपाधी हासिल गर्ने पहिलो नेपाली बन्न सफल भएका हुन्।

यसपटक इएसजीइले एसियाली मुलुकका दुईजना चिकित्सकलाई पहिलोपटक यो डिग्री प्रदान गरेको हो। डा. झासँगै भारतको हैदराबादस्थित एशियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी (एआइजी) का प्रख्यात चिकित्सक नागेश्वर रेड्डीले पनि एफइएसजीइ उपाधी प्राप्त गरेका छन्।

वीरगंजस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालकसमेत रहेका डा. झाले ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा लामो समयदेखि अनुसन्धान, शिक्षण, व्यवसायिक सेवा र क्लिनिकल अभ्यासमार्फत उत्कृष्ट दक्षता प्रदर्शन गर्दै आएका छन्। त्यही निरन्तर योगदानका आधारमा उनलाई यो डिग्री प्रदान गरिएको हो।

एफइएसजीइ उपाधी प्राप्त गर्न इएसजीइसँग कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै दुई चरणको विशेष तालिम-मोड्युल-१ र मोड्युल-२-सफलतापूर्वक पूरा गर्नुपर्ने हुन्छ। डा. झाले सन् २०१३ मा बेलायतको जेनरल इन्फर्मरी लिड्स युनिभर्सिटीबाट मोड्युल-१ र सन् २०१७ मा भारतको हैदराबादस्थित एशियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजीबाट मोड्युल-२ सम्पन्न गरेका थिए। यो वर्ष विश्वभरका १२ जना चिकित्सकले एफइएसजीइ उपाधी प्राप्त गरेका छन्, जसमा डा. झा एक हुन्।