महासंघले भन्यो: शिक्षक आन्दोलनले सार्वजनिक यातायात व्यवसाय धराशायी भयो


काठमाडौँ । शिक्षक आन्दोलनका कारण राजधानीको मुख्य सडक क्षेत्रमा लामो समयदेखि जारी अवरोधले सार्वजनिक यातायात व्यवसायमा प्रभाव पारिरहेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले ध्यानाकर्षण गराएको छ।

महासंघका महासचिव भरत नेपालद्वारा शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि माइतीघर, बबरमहल र बानेश्वर केन्द्रित गरी सञ्चालन गर्दै आएको आन्दोलनले लगातार १६ दिनदेखि सडक अवरुद्ध पारिरहेको छ। यसले बैंक किस्ता, कर, राजस्व, बिमा, मजदुरको पारिश्रमिकजस्ता नियमित आर्थिक क्रियाकलाप ठप्प पार्नुका साथै यातायात व्यवसायमा ठूलो आर्थिक नोक्सानी पुर्‍याएको महासंघको भनाइ छ।

महासंघले आन्दोलनका कारण राजधानीका मुख्य सडकहरू नै रणमैदानमा परिणत भएको उल्लेख गर्दै यसले राजधानीमै मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत नकारात्मक सन्देश प्रवाह गरेको बताएको छ। बन्द, हड्ताल, धर्ना, सभा, जुलुस, हुलहुज्जत र बाटो अवरोधजस्ता गतिविधिका कारण आम नागरिक, यात्रु, सार्वजनिक यातायात व्यवसायी र अन्य व्यवसायमा संलग्न पक्षहरूले ठूलो असहजता भोग्नुपरेको महासंघले जनाएकाे छ ।

“शान्ति सुरक्षा र अमनचयन कायम राख्ने जिम्मेवारी गृह प्रशासन र जिल्ला प्रशासनको हो,” महासंघले भनेको छ, “यसकारण शिक्षक आन्दोलनबाट उपत्यकामा चल्ने हजारौं सार्वजनिक सवारी साधनको सञ्चालनमा परेको कठिनाइप्रति गम्भीर भएर हेर्नु आवश्यक छ।”

महासंघले आन्दोलन नियन्त्रण गरी सडक सहज रुपमा सञ्चालन गराउन र सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै आन्दोलनको प्रभावमा परेका यातायात मजदुर, कर्मचारी, व्यवसायी र यात्रुहरुको चापलाई बुझ्दै यथाशीघ्र समाधान खोज्न पनि महासंघले सरकारसँग अनुरोध गरेको छ।