ढुक्कले विकास निर्माणमा जुट्नुस्, हल्लाको पछि लाग्न आवश्यक छैनः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

शुक्रवार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उनले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गरेका हुन् । उनले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताए ।

आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गरे ।  

प्रधानमन्त्री ओलीले वर्तमान सरकार स्थिर रहेको र यसले स्थायित्व दिएको बताए । उनले संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन तथा विकास गर्न पुराना इतिहास बोकेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले एक भएको दाबी गरे ।

उनले भने, “अहिलेको सरकार हामीले केही भनिरहनुपर्दैन यो स्थिर छ । यसले स्थायित्व दिएको छ र दिनेछ । यो धेरै भनिरहनुपर्दैन, कसले के भन्छ भन्ने कुरा छोडिदिनुस् । नेकपा एमाले र नेपाली काँग्रेस यो देशका सबैभन्दा पुराना, सङ्घर्ष गरेका, योगदान गरेका, बलिदान गरेका, सबैभन्दा ठुला र इतिहास बोकेका पार्टीहरू संयुक्त प्रयासबाट स्थिरता र स्थायित्व दिन र देशको विकास गर्न एक भएका हुन् ।” 

उgले देशमा सुशासन ल्याउन र विकास गर्न जरुरी रहेकाले आफूहरू एक भएको समेत जिकिर गरे ।