‘जैविक कृषि जागरण अभियान-२०८२’ हुँदै, सबैलाई जुट्न आग्रह


काठमाडौँ । खाद्यका लागि कृषि अभियानले ‘जैविक कृषि जागरण अभियान यात्रा २०८२’ गर्ने भएकाे छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जैविक कृषि जागरण अभियान गर्ने बताएकाे हाे । किसानलाई केन्द्रमा राखी, नेपालको स्थानीय विशेषतामा आधारित, प्रकृतिसँग समन्वय गर्ने खेती प्रणाली उपयुक्त विकल्प हुने भन्दै अभियान गर्न लागिएकाे हाे ।

अभियानले जागरण यात्रामा हुने भेटघाट र संवादलाई, स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चितता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समुदाय विशेष गरी महिला, दलित, आदिवासी जनजाति र विपन्न समूहको न्यायसंगत हक स्थापित गर्ने र सरोकारवालाहरूलाई जवाफदेही बनाउन एक सशक्त अवसरको रूपमा लिन चाहेको जनाएको छ ।

आधुनिक र व्यवसायिकका नाममा बाहिरी रासायनमा निर्भर खेतीपातीको बाटो गलत भएको यसलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । कृत्रिम रासायनिक मल र विषादी रहित खेती तथा स्वस्थ्य र पोषणयुक्त खाना सुनिश्चित नगरी केवल भाषणले समस्या समाधान हुन नसक्ने जनाएको छ ।

अभियानका अनुसार रासायनिक मल र विषादीको प्रयोग निरन्तर बढ्‌दो अवस्थामा रहेकोले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाइरहेको छ। जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिग्रँदै गएको र स्थानीय उत्पादन आवश्यक रूपमा बढ्न नसकेको उल्लेख गरिएको छ । हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको कारण यसलाई चिर्नुपर्ने अवस्था आएको जनाएको छ।

आम किसानको सरोकार सम्बोधन गर्ने जिम्मेवारी लिएका सरकार र सरोकार समूहहरू यसप्रति उदासीन देखिएको आरोप अभियानले लगाएको छ । कृषिक्षेत्रको उन्नतिका लागि दिशानिर्देश गर्ने कृषि नीति र संघीय ऐन अहिलेसम्म बन्न नसकेको, खाना र उत्पादक किसानको सुरक्षागर्ने खाद्य अधिकार र संम्प्रभुता ऐन नियम बने पनि कार्यान्वयनमा आउन नसकेको उल्लेख गरेको छ ।

सरकारी अधिकारीहरूले खाद्य सुरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण सरकारको प्राथमिकता हुने बताएपनि दलाललाई फाइदा पुग्ने खालको बेथितिबाट यस्ता प्राथमिकताहरू कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नरहेको आरोप लगाएको छ ।

जागरण यात्राले सबैमा उत्प्रेरणा जगाउने र सबै नेपालीलाई स्वस्थ, स्वाभिमानी जीवनयापनका लागि एकजुट गराउने विश्वास लिएको छ ।

यस यात्रामा सबै तहका सरकार, नागरिक समाज, सञ्चार माध्यम र सम्पूर्ण किसानहरुलाई यो अभियानमा एकताबद्ध रूपमा जुट्न आह्वान गरेको छ ।