काठमाडौँ । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलमा आफ्नो तर्फबाट कुनै अनियमिता भए पुष्टि गर्न चुनौती दिएका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा आफू विरुद्ध उजुरी परेपछि सचिव भट्टराईले आफ्नो तर्फबाट कुनै अनियमिता भए पुष्टि गर्न चुनौती दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्,“पोखरा र भैरहवा विमानस्थलबारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ ।”
भट्टराई २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए ।
पोखरा र भैरहवा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको दाबीपछि सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानबिन गरिरहेको छ ।
भट्टराई भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक छन् । तर भट्टराई पर्यटनमन्त्री भएकोबेला समेत भ्रष्टाचार भएको र उनी संयोजक रहेर छानबिन गर्दा सही प्रतिवेदन नआउने भन्दै समितिमै उजुरी परेको छ ।
उनले आरोपको प्रतिवाद गर्दै भनेका छन्,“सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकिएकाहरू काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पिस छन् भन्ने मैले राम्ररी बुझेको छु ।”
उनले मिडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नहुँन चेतावनी दिँदै भट्टराईले भनेका छन्,“ मलाई औला उठाउनेहरू नै पर्नेवाला छन् । डकुमेन्ट मसँग छ । आवश्यक परे सार्वजनिक गरौँला ।”
प्रतिक्रिया दिनुहोस्