काठमाडाैँ । पानीजहाज तथा जलपरिवहनसम्बन्धी ऐन निर्माणका विषयमा सत्तापक्षका सांसदहरुले अल्मल्याउन खोजेको आरोप प्रतिपक्षी सांसदहरुले लगाएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा प्रतिपक्षी सांसदहरुले यस्तो आरोप लगाएका हुन् । विपक्षी दलका सांसदहरुले ऐन निर्माणमा समय लिएर छलफल गर्नुपर्ने बताएका छन् भने सत्तापक्षका सांसदहहरुले ऐन पास भएपनि आवश्यक विषय संशोधन गरेर थपघट गर्न सकिने बताएका छन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले समितिमा छलफल गरेर पनि पास गर्न नसकिएको प्रावधानहरु नियमावलीमा राख्नुपर्ने बताए । जलपरिवहन सञ्चालन सम्बन्धी प्रावधानहरु अध्ययन र छलफल गरेर राम्रो बनाउनुपर्ने उनको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद तारामान स्वाँरले अध्यादेशमा दुर्घटनाको प्रकारका बारेमा उल्लेख गर्नुपर्ने बताए । उनले सामान्य दुर्घटनाका लागि ऐनमा पनि सामान्य र गम्भीर खालका दुर्घटनामा त्यसैअनुसार व्यवस्था गर्नुपर्ने उल्लेख गरे । ऐनमा दुर्घटनाका प्रकार र त्यस अनुसार व्यवस्था नगरे गम्भीर परिणाम निम्त्याउनसक्ने उनको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले भेहिकल ट्राफिक सेवा प्रदानबारे अध्यादेशमा व्यवस्था गर्नुपर्ने बताए । उनले जलमार्ग व्यवस्थापनका लागि भेहिकल ट्राफिक सेवा अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि अनिवार्य रहेको उल्लेख गरे । भेहिकल ट्राफिक सेवाले जलमार्गको व्यवस्थापन तथा सुरक्षा नियमन तथा कर तथा भन्सार नियमन गर्ने उनको भनाइ छ ।
सांसदहरुले पानीजहाज सम्बन्धी ऐन निर्माण नेपालका लागि नयाँ विषय भएकाले समय लिएर छलफल गरी टुङ्गोमा पुग्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्