काठमाडौँ । सुनिल केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएका छन् ।
बैंक तथा वित्तीय संस्था ऐन २०७३ अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकालभन्दा बढि बस्न नपाउने उच्च अदालतकाे पाटनकाे फैसला भएपछि केसी तेस्राे कार्यकालका लागि इच्छुक हुँदा हुँदै पनि एनएमबि बैंकबाट बिदा भएका हुन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ काे दफा २९ काे उपदफा २ मा “कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्ने” उल्लेख गरिएकाे छ भने उपदफा ३ मा “उपदफा (२) मा लेखिएको व्यवस्था यो ऐन प्रारम्भ भए पछि मात्र लागू हुनेछ” भन्ने उल्लेख गरिएकाे छ ।
ऐनमा उल्लेख गरिएकाे यस व्यवस्थालाई लिएर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अदालत गएका थिए । ऐनमा स्पष्ट व्यवस्था नहुँदा सिइओ नियुक्तीमा असर परेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार ऐन जारी भएपछि पहिलो कार्यकाल गणना गरिनुपर्ने भन्दै शेरचन पाटन उच्च अदालत गएपनि पाटन उच्च अदालतले ऐन लागू भएको मितिलाई गणना गर्नुपर्ने भनेर फैसला गरेको थियो ।
पाटन उच्च अदालतको फैसला चित्त नबुझेर शेरचन सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले शेरचनको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायायधिस तिल प्रसाद श्रेष्ठको इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरे सँगै वैशाख ९ गतेपछि पनि बैंकमा बसेर काम गर्न बाटो खुलेको थियाे ।
सर्वाेच्च अदालतकाे आदेश आउनुभन्दा पहिले नै एनएमबिकाे सिइओमा गाेविन्द घिमिरे नियुक्त भइसकेका थिए । नयाँ सिइओ नियुक्ति भइसकेकाले केसीकाे नियुक्ति निरन्तर हुने बाटाे बन्द भएकाे थियाे ।
बैंककाे बाेर्ड पनि नयाँ भएकाले केसीलाई कम्तीमा २ वर्ष निरन्तरता दिनुपर्ने सञ्चालक समितिमा छलफल चलेकाे थियाे । अन्तिम समयमा विवाद आउन सक्ने भन्दै केसीले बिदा लिने निर्णय गरेका थिए ।
केसी पहिलो पटक २०७३ चैत १ गते पहिलो पटक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए भने २०७७ चैत १ गतेदेखि लागू हुनेगरी दोस्रो कार्यकालको लागि नियुक्त भएका थिए । केसी नियुत्त भएकाे एक महिनापछि बाफिया २०७३ लागू भएकाे थियाे ।
उच्च अदालतको फैसला अनुसार शेरचनको कार्यकाल पनि यही वैशाख ९ गते सकिदै थियो जुन विषय के.सी.मा पनि लागु हुन्थ्याे ।
प्रभु बैंककाे सिइओकाे हकमा सञ्चालक समिति लचक बनिदियाे र पहिले नै सिइओ नियुक्ति गरेन । प्रभु बैंककाे सञ्चालक समिति शेरचनकाे पक्षमा अन्तरिम आदेश नआए कायममुकायम सिइओ नियुक्त गरेर जाने तयारीमा थियाे । सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि शेरचनलाई कार्यकाल लम्बाएर काम गर्ने बाटो खुल्याे ।
शेरचन प्रभू बैँकको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक २०७१ माघ १८ गते नियुक्त भएका थिए भने २०७५ माघमा १० गते दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए ।
शेरचनले ऐन लागू भएपछि नियुक्ति भएको जुनसुकै मितिलाई पनि पहिलो कार्यकाल गणना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालत गएका थिए ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अदालत गएर आफ्नो कार्यकाल लम्ब्याएका हुन्।
केसी बाहिरिएसँगै गोविन्द घिमिरेले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार सम्हालेका छन् । सिइओबाट सुनिल केसी मंगलवारदेखि विदा भएसँगै घिमिरेले कार्यभार सम्हालेका हुन् ।
घिमिरेलाई गत फागुनमा बैंक सञ्चालक समितिले सिइओ बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार घिमिरे बुधबारबाट कार्यभार सम्हालेका हुन् ।
बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय बढुवा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्