काठमाडाैँ । पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले ९० को दशकमा उदार अर्थतन्त्रले भएका विकास र प्रगतिलाई आत्मसात गर्नुपर्ने बताउँदै देखिएका विकृतिलाई आगामी बजेटमा सुधार गर्नुपर्ने बताए।
उनले विगतमा अभ्यास गरिएका उदार अर्थनीति र बजार अर्थतन्त्रकै वरपरबाट अहिलेका आवश्यकताहरू पूरा गर्न नसक्ने निष्कर्षका साथ तीन खम्बे अर्थनीति अपनाएको बताउँदै अहिलेको समयमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्ने जिकिर गरे । उनले कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।
बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेट जनताको भरोसा जित्ने किसिमको हुनुपर्नेमा जोड दिए ।उनले निजी क्षेत्रलाई गतिशील बनाउनको लागि अध्यादेशमार्फत केही कानुनहरूको संशोधन गरेको भन्दै त्यसले मात्रै पर्याप्त नहुने जिकिर गरे ।
उनले निजी क्षेत्रको आत्मबल बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए । पूर्वअर्थमन्त्री कार्कीले अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न नसके जतिसुकै राम्रो बजेट ल्याएपनि कार्यान्वयनयोग्य नहुने बताउँदै सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्ने धारणा राखे ।
उनले आगामी बजेट जनताको आकाङ्क्क्षालाई पूरा गर्न र विकास निर्माणलाई तिब्र गतिका साथ अगाडी बढाउने खालको हुनुपर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस्