काठमाडौँ । नेपालको कृषिक्षेत्रमा भू–उपग्रह प्रविधिको प्रयोग गर्दै विश्लेषण तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबिच सहकार्यको सम्झौता भएको छ। निजी क्षेत्रबाट यस्तो प्रविधि प्रयोग गर्ने पहल पहिलोपटक भएको संघले जनाएको छ।
संघको २४औं वार्षिक साधारण सभाका अवसरमा शुक्रबार उक्त सम्झौता भएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्य र संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार स्याटेलाइट प्रविधिको माध्यमबाट नेपालको कृषिक्षेत्रको पहिचान, विश्लेषण र परामर्श सेवा प्रदान गरिनेछ। एग्रीवाचसँगको सहकार्यबाट कृषि बजार मूल्य संकलन, दैनिक, साप्ताहिक तथा मासिक बजार विश्लेषणलगायत सेवाहरू उपलब्ध हुनेछन्। यसले कृषक तथा व्यापारीलाई निर्णय गर्न सहज हुने विश्वास गरिएको छ।
त्यस्तै कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्यांकन, बीउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र परामर्श सेवा पनि प्राप्त हुनेछ। साथै, एआई प्रविधिमा आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवा उपलब्ध हुने बताइएको छ।
कार्यक्रममा भारत सरकार अन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक अनुपम कौशिकको उपस्थिति रहेको थियो। भारत सरकारले कृषि वस्तु निर्यात तथा कोटा व्यवस्थापनको अधिकार एनसीईएललाई दिँदै आएको छ। अघिल्लो वर्ष नेपालले आयात गरेका गहुँ तथा चिनी जस्ता खाद्यान्न यिनकै माध्यमबाट ल्याइएको थियो।
नेपाल–भारत कृषि सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कौशिकलाई विशेष आमन्त्रणमा नेपाल ल्याइएको नेपाल मैदा उद्योग संघले जनाएको छ। सो अवसरमा नेपालकै पुरानो मैदा उद्योग, खाद्य उद्योग लिमिटेड तथा संघका संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्