विद्यालय शिक्षा ऐनको मागसहित शिक्षक र सरकारबिच सिंहदरबारमा वार्ता सुरू


काठमाडाैँ । सरकार र आन्दोलनरत शिक्षकहरूको वार्ता सुरू भएको छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सुरू भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।

आज भने बिहानैदेखि मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका छन् । शिक्षामन्त्री पन्तको उपस्थितिमा मन्त्रालयमै वार्ता सुरू भएको छ । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।