चिया क्षेत्रको दिगो विकासका लागि १० वर्षे योजना बनाउन आवश्यक छ: मन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाली चिया क्षेत्रलाई दिगो विकासका लागि अबको दश वर्षका लागि स्पष्ट योजना बनाएर अघि बढ्न जरुरी रहेको बताएका छन्।

२१ औं राष्ट्रिय चिया दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपाली चिया विश्व बजारमा मजबुत उपस्थिति जनाउन सफल भए पनि बजारीकरणको पक्षमा अझै समस्या रहेको उल्लेख गरे। उनले भने, “सरकारले बजार विस्तारका लागि आवश्यक सहयोग गर्नेछ। चिया उत्पादन र बजारीकरण दुबैलाई नयाँ दृष्टिकोणले अगाडि बढाउन जरुरी छ।” मन्त्री अधिकारीले चिया क्षेत्रलाई व्यवस्थित बनाउनका लागि विभिन्न संस्थालाई एउटै छाता संगठनको रूपमा एकत्रित गर्नुपर्नेमा जोड दिए।

“यदि हामी सबै एकजुट भएर एउटा बलियो संस्था बनाउँछौं भने, नेपाली चिया अझ सशक्त रूपमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेछ,” उनले भने। चिया तथा कफि विकास बोर्डलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै अनुसन्धान र विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री अधिकारीले बोर्डका कर्मचारीलाई केवल कार्यालयमा उपस्थित भएर बस्न होइन, परिणाममुखी काम गर्न पनि आग्रह गरे।

“खाद्य विभागमार्फत अनुसन्धान अगाडि बढाइनेछ र स्रोत साधनको व्यवस्था मिलाउन मन्त्रालय प्रतिवद्ध छ,” उनले भने । स्रोत साधनको सीमितताबिच पनि नेपाली चियाले विश्व बजारमा राम्रो उपस्थिति बनाउन सफल भएको भन्दै मन्त्री अधिकारीले निजी क्षेत्रको योगदानको प्रशंसा गरे र आगामी दिनमा थप प्रेरित भएर काम गर्न आग्रह गरे। कार्यक्रममा चिया क्षेत्रका विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।