शिक्षकसँग आजै सहमति हुने सत्ता गठबन्धनको विश्वास, बिहीवारदेखि पठनपाठन सुरू हुने आशा


काठमाडाैँ । आन्दोलनरत शिक्षकहरू र सरकारबिच आजै सहमति हुने सत्ता गठबन्धनले विश्वास व्यक्त गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकबिचको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको बताउँदै छिट्टै निचोडमा पुग्ने अपेक्षा व्यक्त गरेका हुन् ।

उनले नेपाल शिक्षक महासंघ र सरकारबिच भइरहेका निरन्तर छलफलले ठोस सहमति तर्फको बाटो खोलेको जनाउँदै आजै औपचारिक सहमति भइ बिहीवारदेखि देशभरका विद्यालयहरूमा पठनपाठन सुचारु हुने विश्वास व्यक्त गरे ।

“शिक्षकहरूसँगको वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ। आज दिनभरि छलफल जारी रहनेछ र सहमति गरेर भोलीदेखि सहज रूपमा पठनपाठन सुरु हुन्छ भन्नेमा म आशावादी छु,” उनले भने ।

उनले आन्दोलनरत शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै सुरूदेखि नै वार्ताको प्रयास भए तापनि शिक्षकहरूले ऐन फिर्ता नभएसम्म नफर्कने अडानका कारण प्रक्रिया केही ढिलो भएको पनि उल्लेख गरे ।

“सरकारले खेलाँची गरेको होइन। सुरूदेखि नै वार्ताको पहल भएको थियो, तर शिक्षकहरूले ऐन फिर्ता नभएसम्म विद्यालय नफर्कने अडान लिँदा ढिलाइ भयो,” उनले भने ।

ज्ञवालीले पूर्व शिक्षामन्त्रीले पनि समाधानका लागि प्रयास गरेको जनाउँदै अबको छलफलले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे ।