भारतको ओडिसामा रहेको किट विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला


काठमाडौँ । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत भेटिएकी छन् ।

मृतक छात्रा पर्सा वीरगन्जकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । साह छात्रावासको कोठामै मृत भेटिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत फागुनमा मात्र्र केआइआइटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत अवस्थामा भेटिएकी थिइन् ।

रुपन्देहीकी प्रकृतिले आफूमाथि दुव्र्यवहार भइरहेको र यसबारे कलेज प्रशासनमा धेरैपटक उजुरी गरे पनि सुनुवाइ नभएको देखिएको थियो ।

प्रकृतिको मृत्युपछि व्यापक विरोध भएको थियो । तीन महिनामै फेरी अर्की नेपाली छात्राको मृत्यु भएको छ ।

प्रहरी आयुक्त एस देवदत्तले नेपाली छात्रा साहको मृत्युको पुष्टि गरेका छन् ।

उनले मृत्युबारे थप अनुसन्धान भइरहेको बताएका छन् । उनले भनेका छन्,“हामीले भारतस्थित नेपाली दूतावासलाई घटनाको बारेमा जानकारी गराएका छौँ र शवलाई एम्स भुवनेश्वरमा सारेका छौँ।”