काठमाडौँ । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान) ले पुष्प तथा पुष्पजन्य वस्तुको अवैध आयात बढ्दै गएको भन्दै चासो व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। फ्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार आवश्यक प्रक्रिया नअपनाई नाकाबाट अवैध रूपमा फूल आयात भइरहेको उल्लेख गरेको छ।
अवैध आयातका कारण बिरुवासँगै नयाँ रोग र किराफट्याङ भित्रिएकाले नेपाली किसानहरू ठूलो आर्थिक नोक्सानीमा परेको जनाइएको छ। “स्वास्थ्यको प्रमाणपत्र विना आयात भइरहेकाले हरेक वर्ष नयाँ रोग फैलिएको र यसको असर स्वदेशी फूल व्यवसायमा देखिएको छ,” विज्ञप्तिमा भनिएको छ।
फ्यानले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ‘नेपालको बजारको पहिलो अधिकार, स्वदेशी अनि स्थानिय उत्पादन’ भन्ने मान्यतालाई आत्मसात् गर्न व्यवसायी र उपभोक्तामा अपिल गरेको छ।
त्यस्तै, नेपाल सरकारले २०७९ सालमा राजपत्रमार्फत प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री, वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि यसको प्रयोग अझै जारी रहेको फ्यानले जनाएको छ। होटेल, रिसोर्ट र पार्टी प्यालेसमा प्लास्टिक फूल प्रयोग भइरहेकाले अनुगमन हुनसक्ने भन्दै फ्यानले आफ्ना सदस्यहरूलाई यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ।
फ्यानले पुष्प क्षेत्रमा सरोकारवालाको सहकार्यमा अवैध कारोबार रोक्न, स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र व्यवसायीलाई ऐन नियमको परिधिमा रहि व्यवसाय गर्न प्रेरित गर्दै आएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्