काठमाडाैँ । अप्रिल २०२५ मा भारत प्रशासित कश्मीरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबिचको तनाव उत्कर्षमा छ ।
आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर यसै हप्ता हवाइ आक्रमण गर्यो ।
पहलगाम आक्रमणमा आफ्नो संलग्नता पाकिस्तानले अस्वीकार गरे पनि भारतले आरोपमात्रै लगाएन आतङ्कवादी शिविरहरूलाई लक्षित गर्दै पाकिस्तानी भूमिमा ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेपछि तनाब जारी छ ।
यो तनाव युद्धमा परिणत त भइसकेको छैन तर जम्मू कश्मीर क्षेत्रमा गोलाबारी चलिरहेको छ ।
दक्षिण एसियाली यी दुइ मुलुकबिचको तनावले भूराजनीतिक तनावलाई मात्र बढाएको छैन आर्थिक अस्थिरताको जोखिम बढाएको छ ।
तनाव बढ्दै जाँदा दुवै मुलुकको बजारहरूमा प्रत्यक्ष प्रभाव देखिन थालेको छ ।
कराँची स्टक एक्सचेन्जमा गिरावट आएको छ भने भारतीय बजार समेत अस्थिरता देखिएको छ ।
द्वन्द्वको डर बढ्दै जाँदा, व्यापार, पर्यटन र उड्डयन जस्ता प्रमुख क्षेत्रहरूले तनाव महसुस गरिरहेका छन् भने विस्तार प्रभाव समेत देखिन थालेको छ । भारत–पाकिस्तान द्वन्द्व बढ्दै गए अर्थतन्त्रका विभिन्न क्षेत्रहरू प्रभावित हुने छन् ।
पहलगाम आक्रमण लगत्तै बढेको तनावले व्यापार तथा निर्यात क्षेत्र प्रभावित बन्न सुरु गरिसकेको छ ।
भारत र पाकिस्तानबिचको व्यापार ठप्प छ । भारतले पाकिस्तानबाट हुने सबै प्रत्यक्ष र अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाएको छ ।
एक प्रमुख व्यापार मार्ग अटारी–वाघा सीमाबाट सन् २०२३/०२४ मा मात्रै ३ हजार ६ सय ८६ करोडको सामान भारतबाट निर्यात भएको थियो जुन अहिले बन्द भएको छ ।
विश्लेषकहरूका अनुसार पाकिस्तानी व्यापारीहरूले ठुलो घाटा र अभावको सामना गरिरहेका छन् ।
भारतबाट पाकिस्तान जाने औषधि र कृषि उत्पादन जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भइरहेको छ । भारतमा समेत औषधि, रसायन, चिनी र अटो कम्पोनेन्टको आयात कम हुने आँकलन भइरहेको छ ।
पाकिस्तानी जहाजहरूलाई भारतीय बन्दरगाहहरूमा अनुमति छैन, जसले गर्दा व्यापार अझ कठिन देखिएको छ । यो तनावले विश्वव्यापी व्यापारलाई पनि असर गर्नेछ बढ्दो जोखिम र अस्थिरताका कारण अन्तर्राष्ट्रिय व्यापारीहरू यस क्षेत्रमा व्यापार गर्न हिचकिचाउने अवस्था बनेको छ ।
पर्यटन क्षेत्र अर्को प्रभावित क्षेत्र बन्न थालेको छ । पहलगाममा हालै भएको आक्रमणपछि कश्मीरको पर्यटन नराम्ररी प्रभावित भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । होटलहरूको बुकिङ् रद्द भएका छन् ।
सन् २०२४ मात्रै ३० लाख भन्दा धेरै पर्यटक भित्राएको कश्मीर क्षेत्रको पर्यटक आगमनमा तीव्र गिरावट आएको छ ।
अमेरिका, बेलायत र रुस जस्ता देशहरूले जम्मू कश्मीर भ्रमण नगर्न यात्रा चेतावनी जारी गरेका छन्, जसले गर्दा अवस्था झनै खराब भएको छ । तनाव बढ्दै जाँदा यसको प्रभाव दक्षिण एसियाली क्षेत्रमा नै पर्न सक्छ ।
भारतले सबै २८ राज्यहरूमा अनावश्यक यात्रा नगर्न अलर्टहरू पनि जारी गरिसकेको छ ।
जसका कारण होटल, रिसोर्ट र ट्राभल व्यवसायलाई ठुलो नोक्सान पुर्याएको छ ।
हवाई क्षेत्र र विमानस्थलहरू बन्द हुँदा उड्डयन उद्योगले प्रत्यक्ष प्रभावित बन्न सुरु गरेको छ ।
पहलगाम आक्रमणपछि भारत र पाकिस्तान दुवैले एकअर्काको उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेका थिए ।
भारतले आफ्नो उत्तरी र पश्चिमी क्षेत्रहरूमा २७ वटा विमानस्थलहरू बन्द गरेको छ, जसको परिणामस्वरूप ४३० भन्दा बढी उडानहरू रद्द भएका छन् ।
यसले गर्दा एयरलाइन्सहरूलाई सयौं अन्तर्राष्ट्रिय उडानहरूको रुट परिवर्तन गर्न बाध्य भएका छन् जसले गर्दा यात्रा लामो र महँगो भएको छ ।
भारत र युरोप, उत्तर अमेरिका र मध्य पूर्वबिचका उडानहरूले अब घुमाउरो बाटो अपनाउनुपर्ने अवस्था छ जसले गर्दा इन्धन लागत र टिकटको मूल्य बढेको छ ।
भारतका एयर इन्डिया र इन्डिगो जस्ता एयरलाइन्सका साथै अन्य विश्वभरका एयरलाइन्सहरूको यो द्वन्द्व टाउको दुखाइको विषय बनेको छ ।
भारत र पाकिस्तानबिचको जारी तनाव युद्धमा परिणत भए अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउँ सक्ने आँकलन हुन थालेको छ ।
रुस—युक्रेन युद्धले प्रभावित विश्व दुई दक्षिण एसियाली मुलुकबिचको युद्धबाट थप प्रताडित बन्ने आँशङ्का बढ्न थालेको छ ।
औपचारिक युद्ध नहुँदै व्यापार, पर्यटन र उड्डयन जस्ता महत्वपूर्ण क्षेत्रहरू नराम्ररी प्रभावित भएका छन् ।
युद्ध बढे सबैभन्दा बढी प्रभावित युद्धरत मुलुक तहुने नै छन् यससँगै अर्थतन्त्रको विश्वव्यापि श्रृङ्खलामा समेत समस्या हुनेछ ।
प्रतिक्रिया दिनुहोस्