काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबिच उत्पन्न पछिल्लो तनाव र त्यससँग सम्बन्धित घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले भारतले सो आक्रमणको जवाफस्वरूप कारवाही गरे पनि जेट हमला गरेको भन्ने प्रचार असत्य भएको स्पष्ट पारे।
राजदूत श्रीवास्तवले सो घटनाबारे नेपाल सरकारले बिहीबार जारी गरेको वक्तव्यप्रति धन्यवाद व्यक्त गर्दै नेपालको सहानुभूति र समर्थनलाई सकारात्मक रुपमा लिएको बताएका थिए।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालले सधैं विश्व शान्तिको पक्षमा उभिएको र सबै प्रकारका आतङ्कवादविरुद्ध दृढ अडान रहेको उल्लेख गरे। उनले पहलगाममा भएको आतङ्कवादी हमलाको भत्र्सना गर्दै नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने पक्षमा नरहेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्