काठमाडाैँ । सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित *फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको स्पष्ट पारेका हुन् ।
“यस वर्ष २० प्रतिशत पुँजीगत बजेट घटेको छ,” उनले भने, “तर, हामीले भएको बजेटको उचित सदुपयोग गर्दै नीतिगत सुधारमा केन्द्रित भएका छौं,” ।
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले वन, गृह, परराष्ट्र, उद्योग लगायतका मन्त्रालयहरूसँग सहकार्य गरिरहेको जानकारी दिए ।
सुदूरपश्चिम क्षेत्रमा अझै पर्यटकीय गतिविधि कम रहेको स्वीकार गर्दै मन्त्री पाण्डेले पूर्वी नेपाल र मध्य नेपालजस्तै सुदूरपश्चिमको पर्यटन पनि चलायमान बनाउन आवश्यक रहेको धारणा राखे ।
सरकार पूर्वाधार विकासमा पनि जुटिरहेको बताउँदै मन्त्री पाण्डेले मझगाउँ विमानस्थलको निर्माण कार्य भइरहेको र धनगढी विमानस्थलको स्तरोन्नति तथा पोखरा विमानस्थलबाट सातै प्रदेशमा नियमित उडान सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिए । “कनेक्टिभिटी भयो भने पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ भन्ने हाम्रो विश्वास हो,” उनले भने ।
पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै मन्त्री पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्