काठमाडौँ । सैन्य कारबाही रोक्ने सहमति लगत्तै पाकिस्तानले ‘एयरस्पेस’ खुल्ला गरेको छ ।
पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार भारत र पाकिस्तानबिच सैन्य कारबाही रोक्ने सहमति भएलगत्तै हवाई क्षेत्र सबै प्रकारका उडानहरूको लागि पूर्ण रूपमा खुल्ला गरिएको जनाएको छ ।
नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तान र भारतबिच तनाव बढ्दै जाँदा हवाई क्षेत्र बन्द गरिएको थियो ।
भारत र पाकिस्तानबिच गोलाबारी र सैन्य कारबाही आजै बेलुकी ५ बजेखि रोक्न सहमति भएको छ ।
युद्धविराममा भएको सम्झौताको बारेमा जानकारी दिँदै भारतका विदेश सचिव विक्रम मिश्रीले पनि दुवै पक्षले शनिबार साँझ ५ बजेदेखि सैन्य कारबाही र गोलीबारी रोक्न निर्देशन जारी गरेको बताएका छन् ।
विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ आकस्मिक पत्रकारसम्मेलन गरेर युद्धविरामबारे जानकारी गराएका हुन् । उनले भने, “पाकिस्तानको सैन्य अपरेसनका महानिर्देशकले आज दिउँसो ३ः३५ बजे आफ्नो भारतीय समकक्षीलाई फोन गरे ।
उनीहरूले आज साँझ ५ बजेदेखि दुवै पक्षले जमिन, समुद्र र हावाबाट गोलीबारी बन्द गर्ने कुरामा सहमति जनाएका छन् ।”
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पनि युद्धविराममा सहमति भएको पुष्टि गरेका छन् ।
अप्रिल २०२५ मा भारत प्रशासित कश्मीरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबिचको तनाव उत्कर्षमा पुगिरहेका बेला दुबै देशबिच एकअर्काप्रति सैन्य कारबाही रोक्न सहमत भएका हुन् ।
पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्तानका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गरेको थियो । पाकिस्तानले पनि अपरेसन ’बुन्यान–उ,–मार्सूस’ नाम दिएर जवाफी कारबाही गरेपछि दुईदेशबिचका तनाब युद्धमा परिणत हुने आशङ्काबिच सैन्य आक्रमण रोक्ने सहमति भएको हो ।
प्रतिक्रिया दिनुहोस्