नौ महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि भएको छ। हाल यो आप्रवाह ८ अर्ब ७४ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष यही अवधिमा १५.२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो ।

यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।