जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सांसद डाँगी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमुख सचेतक तथा सांसद निशा डाँगीले जेनजी पुस्ताले स्थिर सरकार र विकासमा गति ल्याउने नयाँ सोचको नेतृत्व चाहेको बताएकी छिन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद डाँगीले अहिलेको राजनीतिक नेतृत्वबाट देश विकास हुने आश मरेको भन्दै अब नयाँ अनुहार र विचार आवश्यक रहेको धारणा राखिन्।

“हाम्रो हजुरबुबाको पालादेखिका नेताहरुबाट आशा मरिसक्यो। म जन्मिनुअघि नै प्रधानमन्त्री बन्नुभएका नेताहरुको डेट एक्सपायर भइसक्यो,”उनले भनिन्, “हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौं। रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति आवश्यक छ।”

सांसद डाँगीले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न वर्तमान राजनीतिक नेतृत्वले वास्तविक आवश्यकता बुझ्न नसकेको आरोप पनि लगाइन्। उनले भनिन्, “यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ति छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन्। त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरु राख्न चाहन्छु। हामी स्थिर सरकार चाहन्छौं, जहाँ विकासले गति लिओस्।”

सांसद डाँगीले गुणस्तरीय शिक्षा, सीप विकास तालिम र उद्यमशीलताको अवसर सृजना गर्नुपर्नेमा जोड दिइन् ।