शर्माको आग्रहः बजेट केवल खर्च–आम्दानीको हिसाब होइन, समृद्धिको दस्तावेज बनोस्


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना नगरी आगामी आर्थिक वर्षको बजेट नल्याउन आग्रह गरेका छन्।

बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले चालु खर्च घटाएर पुँजीगत खर्च बढाउने माग राखेका हुन् । “६५ प्रतिशत चालु खर्चलाई ३५ प्रतिशतमा झार्न सके समर्थन गर्छौं,” उनले भने, “राजश्व १० खर्बमै सीमित छ । त्यसैले तानतुन गरेर दुई–चार खर्ब थपेर बनाइएको बजेटले जनअपेक्षा पूरा गर्न सक्दैन।”

सांसद शर्माले बजेटलाई केवल आम्दानी र खर्चको तालिकाका रूपमा होइन सामाजिक न्याय र समृद्धिको दिशातर्फ डोहोऱ्याउने उद्देश्यसहितको दस्तावेज बनाउनु पर्नेमा जोड दिए ।

उनले वर्तमान संरचना, कर्मचारी तन्त्र, राजनीतिक तथा प्रशासनिक खर्च घटाएर मात्र प्रभावकारी बजेट निर्माण सम्भव हुने बताए। साथै उनले आर्थिक पुनर्संरचनाका लागि राष्ट्रिय बहस र सहमतिको आवश्यकता रहेको उल्लेख गरे।

भूकम्प पुनर्निर्माणका लागि छुट्टै बजेट शीर्षक राख्नुपर्नेमा पनि उनको जोड थियो। उनले चितवन–काठमाडौँ वैकल्पिक मार्ग र जुम्ला–जाजरकोट टनेलजस्ता परियोजनामा तुलनात्मक लाभका आधारमा लगानी गर्न सुझाव दिए।