सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुपारी आयातबाट २५ अर्ब बराबरको राजश्व संकलन हुने दाबी गरेका छन् । 

आईतवार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मन्त्री भण्डारीले ठूलो परिमाणमा राजश्व संकलन हुने भएकाले कानून सशोधन गरेर आयात अनुमति दिइएको बताएका हुन् ।

उनले कच्चा पदार्थको रुपमा आउने सुपारीबाट २५ अर्बको आसपासमा राजश्व आउने दाबी गरे । सर्वोच्च अदालतको फैसला बमोजिम निर्णय गर्न उनले समितिलाई आग्रह गरेका छन् ।

व्यापारिक प्रयोजनका लागि नभएर औद्योगिक प्रयोजनका लागि मात्र ल्याउन दिएकाले त्यसको चेकजाँच लगायतबारे समितिले आवश्यक निर्देशन दिनेमा आफू ढुक्क भएको उनकाे भनाइ छ । 

उनले भने, “सुपारी आयातले लगभग २५ अर्वको राजश्व संकलन हुन्छ । त्यसका लागि उद्योगहरु सञ्चालित छन् निर्यात पनि भइरहेका छन् । त्यसमा कच्चा पदार्थका माग हुन्छ । त्यसलाई कानून व्यापारिक प्रयोजनका लागि नभएर औद्योगिक प्रयोजनका लागि मात्र ल्याउन दिन्छौं ।”

उनले विभिन्न कानूनी अड्नका कारण स्वदेशी उत्पादन सुपारी निकासी गर्न नसकिएको भन्दै सुपारीको डीएनए परीक्षण सम्भव नभएको र यसबाट लामो समयदेखि किसान समस्यामा रहेको स्पष्ट पारे ।