अर्गानिक खानपानले शरीर र स्वास्थ्यमा सकारात्मक असर पार्छः उपसभामुख राना


काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले अर्गानिक खानपानले शरीर र स्वास्थ्यमा सकारात्मक असर पार्ने बताएकी छन् ।

‘खाद्यका लागि कृषि’ अभियानद्वारा आयोजित एक महिने ‘जैविक कृषि जागरण यात्रा २०८२’ अन्तर्गतको सन्देश सार्वजनिक समारोहमा बोल्दै उनले रैथाने तथा अर्गानिक उत्पादनको प्रयोगलाई जीवनशैलीमा अंगीकार गर्न सबैलाई आग्रह गरिन्।

उपसभामुख रानामगरले आफू ढिंढो, रोटी खाएर हुर्किएको उल्लेख गर्दै प्राकृतिक खानपान र जीवनशैलीले मानिसलाई स्वस्थ राख्ने बताइन्। “म जंगलमै काम गरेकी मान्छे हुँ, रैथाने खाना खाएर हुर्किएकी छु,” उनले भनिन्, “आज पनि अर्गानिक खाने बानी बसाल्न सके दीर्घकालीन रूपमा स्वास्थ्यमा लाभ पुग्छ।”

उनले ‘खाद्यका लागि कृषि’ अभियानलाई धन्यवाद दिंदै उनले जैविक कृषि प्रवर्धनमा यस्ता अभियानको भूमिका महत्वपूर्ण रहेको बताइन्। “अभियानले दीगो कृषि, खाद्य सुरक्षाका साथै स्वास्थ्यप्रति जनचेतना जगाएको छ,” उनले भनिन् ।

उनले नीति निर्माण मात्र गरेर नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्। “नीति मात्रै होइन, व्यवहारमै लागू गर्ने हो भने मात्रै परिवर्तन सम्भव छ,” उनले भनिन्, “काम गर्दा मात्र नतिजा देखिन्छ।”

कार्यक्रममा उनले जैविक कृषि प्रवर्धनमार्फत देशलाई आत्मनिर्भर बनाउने दिशामा यस्ता अभियानहरू प्रेरणादायी हुने विश्वास व्यक्त गरिन्। साथै सबै सरोकारवाला पक्षबिच समन्वय र सहकार्यको आवश्यकता औँल्याउँदै जैविक कृषि अभियानलाई अझ व्यापक बनाउने सुझाव दिइन्।