काठमाडाैँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपदको समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्या हुने गरेको बताएका छन् ।
बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्का समयमा पनि सबैलाई भाषण गर्नैपर्ने, हेलिकोप्टरमा राहत सामग्री भन्दा पनि नेता नै जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।
विपद् व्यवस्थापनका लागि रिपोर्ट बनाएर दिनुस् भन्दा कर्मचारीले चार, पाँच महिना लगाइदिने तर विदेश घुम्ने भनेपछि आजको भोलि नै तयार हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले नीतिगत सुधार गरेर व्यवस्थापनको जिम्मा तीन तहको सरकारको समन्वयमा स्थानीय तहलाई नै दिनुपर्ने बताए ।
“पहाड, हिमाल र तराईमा विपद् व्यवस्थापनमा फरक फरक योजना बनाउनुपर्छ । त्यसमाथि राहतको प्रणालीमा पनि स्पष्ट हुनु जरुरी छ । सबैभन्दा ठूलो कुरा भनेको राहत दिने र समस्या समाधान गर्नेभन्दा पनि पब्लिसिटी खोज्ने धेरै छन् । सबैलाई भाषण गर्नैपर्ने, हेलिकोप्टरमा राहत सामग्री भन्दापनि नेता जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । विपदका समयमा हेलिकोप्टरमा राहत सामग्रीबाहेक अरु कोही नजानेगरि कानुनमै व्यवस्था गर्नु जरुरी छ,” उनले भने
उनले विपद व्यवस्थापनका लागि टास्कफोर्स आवश्यक रहेको बताउँदै त्यसका लागि कस्ता मानिस लिने भन्ने पहिले नै निक्र्यौल गरिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्