रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, लामिछानेमाथिको मुद्दा र भिजिट भिसाबारे छलफल गर्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपरान्ह पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बस्दैछ। बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको प्रतिशोधपूर्ण र झुठा मुद्दा, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताजस्ता समसामयिक विषयहरूबारे छलफल हुने भएको छ।

पार्टीका नेता मनिष झाका अनुसार आजको बैठकमा पाँच वटा मुख्य एजेन्डा तय गरिएको छ। पहिलो एजेन्डामा सभापति लामिछानेमाथि लगाइएको मुद्दाको आगामी प्रक्रियाबारे छलफल हुनेछ। रास्वपाले उक्त मुद्दालाई प्रतिशोधपूर्ण र आधारहीन बताउँदै आएको छ।

दोस्रो एजेन्डामा भिजिट भिसा काण्ड र गृहमन्त्रीको भूमिकाबारे पार्टीको धारणा तय गरिनेछ। पछिल्लो समय सार्वजनिक भएको भिजिट भिसा प्रकरणमा गृह प्रशासनको संलग्नताबारे प्रश्न उठिरहेको सन्दर्भमा रास्वपाले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

तेस्रो एजेन्डामा पार्टीको आगामी कार्यदिशा तथा महाधिवेशनलाई लक्षित क्यालेन्डरबारे छलफल हुनेछ। महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन बैठकमा रणनीतिक विषयहरूमा निर्णय हुने अपेक्षा गरिएको छ।

चौथो एजेन्डा पार्टीको तेस्रो स्थापना दिवस (आगामी असार ७ गते) का कार्यक्रमबारे हुनेछ। रास्वपाले स्थापना दिवसलाई विशेष कार्यक्रमका साथ मनाउने तयारी गरिरहेको छ। अन्तिम एजेन्डामा विविध विषयहरूमा पनि छलफल हुने नेता झाले जानकारी दिए।