काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले संघीय राजधानी काठमाडौँमा निर्माणाधीन प्रमुख पूर्वाधार योजनाहरूलाई तीव्र रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
आइतबार मन्त्रालयका प्रशासनिक तथा प्राविधिक पदाधिकारीहरूसहित स्थलगत निरीक्षणमा निस्किएका मन्त्री दाहालले निर्माण कार्यमा तीव्रता ल्याउन सम्बन्धित पक्षलाई ताकेता गरेका हुन् ।
ग्वार्को फ्लाईओभरको निरीक्षणबाट सुरू भएको मन्त्रीको टोली थानकोट हुँदै नागढुंगा सुरुङ मार्गसम्म पुगेको थियो। ग्वार्को फ्लाईओभर निरीक्षणका क्रममा मन्त्री दाहालले यो आयोजना जेठ महिनाभित्रै सम्पन्न हुने स्पष्ट पार्दै, निर्धारित समयसीमा नाघिसकेको भन्दै अबको केही दिनमै सवारी सञ्चालन योग्य बनाउन निर्देशन दिए । उनले निर्माण सम्पन्न भएलगत्तै सवारी साधन सञ्चालन प्रारम्भ हुने जानकारी पनि दिए ।
थानकोटमा निर्माणाधीन अर्को फ्लाईओभर निरीक्षण गर्दै मन्त्री दाहालले राजधानी भित्रिने र बाहिरिने सवारी साधनको चाप कम गर्न यो संरचना महत्वपूर्ण हुने बताए । हाल सो फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ।
यसपछि मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको निरीक्षण गरे । उनले यो सुरुङ मार्गको सम्पन्नतासँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ युगमा प्रवेश गर्ने टिप्पणी गरे। हाल सुरुङ मार्गको मुख्य संरचना तयार भइसकेको र सञ्चालनको अन्तिम तयारी भैरहेको जानकारी दिइएको छ।
यसैबिच मन्त्रालयका सचिव केशवकुमार शर्माले सुरुङ् सञ्चालनको मोडालिटी निर्माण भैरहेको र त्यसकै आधारमा सवारी सञ्चालन गरिने बताए । सुरुङ सञ्चालनका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारीहरू अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्