काठमाडौँ । अध्यागमन विभागमा देखिएको भिजिट भिसा सेटिङ प्रकरणले संसद तताइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभामा पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै, अनुसन्धानमा सघाउन स्वेच्छाले पदबाट राजीनामा दिनुपर्ने माग राखे। उनले अध्यागमन कार्यालयका प्रमुखले नै गृह मन्त्रालयलाई लाखौँ रुपैयाँ बुझाउनुपर्ने बयान दिएको जनाउँदै, यस्तो अवस्थामा गृहमन्त्रीको पद रहन नहुने तर्क गरे।
सांसद अछामीले भने, “बाढीमा फसेका नागरिकलाई उद्धार गर्न भिजिबिलिटि छैन भनिन्छ, तर अध्यागमन विभागमा भने भिजिबिलिटि अत्यन्तै राम्रो रहेछ भन्ने सन्देश गएको मैले अनुभूत गरेको छु। यस्ता खालका मानवता विरोधी र भ्रष्टाचारजन्य गतिविधिमाथि छानबिन हुनुपर्छ।”
उनले गृहमन्त्री लेखकलाई नैतिकताको पाठ सिकाउने व्यक्तिका रूपमा उल्लेख गर्दै भने, “उहाँ आफैले सत्ता सञ्चालकहरूले नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर सिकाउनुभएको थियो। त्यसैले आज म उहाँकै पाठ सम्झाउँदै राजीनामा दिन माग गर्दछु।”
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिई उनीहरूको मोबाइल र अन्य डिभाइसहरू अनुसन्धानका लागि लैजाने कार्य अघि बढाइसकेको छ।
यसैबिच प्रतिनिधि सभाको बैठक पनि गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूद्वारा अवरुद्ध भइरहेका छन्। सांसद अछामीले गृहमन्त्रीले राजीनामा नदिए राष्ट्रिय सभाको बैठक चल्न नदिने चेतावनीसमेत दिएका छन्।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्