काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदसमक्ष चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन् ।
आर्थिक सर्वेक्षणको सार
विश्व र नेपालको अर्थतन्त्र
विश्व आर्थिक एवम् राजनीतिक परिदृश्यमा देखिएको अस्थिरता र अनिश्चितताको कारण आर्थिक गतिविधिमा सुस्तता आई सन् २०२५ मा विश्व अर्थतन्त्रको विस्तार कम हुने अनुमान छ। सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र विश्व व्यापार तनाव, न्यून लगानी, आपूर्ति श्रृङ्खलामा देखिएको अवरोध लगायतका कारण २.८ प्रतिशत रहने प्रक्षेपण छ ।
विकसित, उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति घट्दै गएकोले सन् २०२५ मा समग्र मूल्यस्तरमा चाप कम पर्ने अनुमान छ। पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण इन्धनजन्य वस्तुको मूल्य घट्ने अनुमान छ।
कृषि, विद्युत तथा ग्यास, यातायात तथा भण्डारण लगायतका क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष यस्तो वृद्धि ३.६७ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्रको आकार रु. ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३.३२ प्रतिशत रहने अनुमान छ। यस अवधिमा कोशी प्रदेशको ३.३६ प्रतिशत, मधेश प्रदेशको ४.५० प्रतिशत, बागमती प्रदेशको ५.१८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.७० प्रतिशत र कर्णाली प्रदेशको ४.७४ प्रतिशत रहने अनुमान छ।
चालु आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको उत्पादन ४.२८ प्रतिशतले बढ्ने अनुमान छ । गत आर्थिक वर्ष कृषि क्षेत्रको उत्पादन ३.३५ प्रतिशत र गैरकृषि क्षेत्रको उत्पादन ३.३६ प्रतिशतले बढेको थियो । धानको उत्पादन ४.०४ प्रतिशतले बढ्ने अनुमान रहेको छ।
कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान उच्च रहेको छ । चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष यस्तो योगदान क्रमशः २४.७१ प्रतिशत, १२.९१ प्रतिशत र ६२.३८ प्रतिशत रहेको थियो ।
कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश उच्च रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा ९३.७८ प्रतिशत रहेको कुल उपभोग चालु आर्थिक वर्ष ९३.४५ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य गार्हस्थ्य उत्पादनको ६.२२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ६.५५ प्रतिशत पुग्ने अनुमान छ।
आर्थिक वर्ष २०८०/८१ मा कुल स्थिर लगानी ५.२ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो लगानी ५.८ प्रतिशतले बढेर रू. १४ खर्ब ७० अर्ब १२ करोड पुग्ने अनुमान छ । कुल स्थिर लगानीमध्ये सार्वजनिक क्षेत्रको हिस्सा ३९.१ प्रतिशत र निजी क्षेत्रको हिस्सा ६०.९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय ( प्रचलित मूल्यमा ) ५.८ प्रतिशतले बढेर रू.२ लाख ६ हजार ४ सय २४ पुग्ने अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४६७ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,५१७ अमेरिकी डलर पुग्ने अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमी, छिमेकी मुलुकको मुद्रास्फीतिमा आएको कमी लगायतको कारण चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो मुद्रास्फीति ६.०८ प्रतिशत रहेको थियो ।
सरकारको वित्त स्थिति
आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको राजस्व सङ्कलन १०.४ प्रतिशतले बढेर रू.११ खर्ब ५० अर्ब ९९ करोड पुगेको छ। कुल सङ्कलित राजस्वमध्ये संघबाट सङ्कलित राजस्वको हिस्सा ९२.० प्रतिशत र प्रदेश तथा स्थानीय तहबाट सङ्कलित राजस्वको हिस्सा ८.० प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको एकीकृत खर्च ०.९ प्रतिशतले घटेर रू.१६ खर्ब ४० अर्ब ६८ करोड रहेको छ । एकीकृत खर्चमध्ये संघीय खर्च ६४.२ प्रतिशत, प्रादेशिक खर्च ९.९ प्रतिशत र स्थानीय तहबाट भएको खर्च २५.९ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको एकीकृत खर्चमध्ये चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था तर्फको खर्चको हिस्सा क्रमशः ५६.१ प्रतिशत, २७.३ प्रतिशत र १६.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा संघीय सरकारको वित्त घाटा २.५३ प्रतिशत र प्राथमिक घाटा १.०९ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा संघीय राजस्व ११.४ प्रतिशतले वृद्धि भई रु.९ खर्ब २९ अर्ब ५ करोड पुगेको छ भने संघीय खर्च २.० प्रतिशतले घटेर रु. १३ खर्ब ९३ अर्ब ४० करोड रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनमा संघीय खर्च, संघीय राजस्व र सार्वजनिक ऋण क्रमशः २४.४१ प्रतिशत, १६.२७ प्रतिशत र ४२.६४ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान रु.२ खर्ब ३९ अर्ब ७६ करोड र राजस्व बाँडफाँट रु.८५ अर्ब ७० करोड गरी प्रदेश र स्थानीय तहमा रु. ३ खर्ब २५ अर्ब ४६ करोड हस्तान्तरण भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म रु.७० अर्ब ३६ करोड रहेको संघीय सरकारको वित्त घाटा चालु आर्थिक वर्षको फागुनसम्म रु. १६ अर्ब १९ करोड घाटामा रहेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले बढेर रू. ८ खर्ब ३९ अर्ब पुगेको छ । यस अवधिमा संघी राजस्व १२.६ प्रतिशतले बढेर रू.५ खर्ब ६१ अर्ब ९३ करोड पुगेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म आन्तरिक र वैदेशिक ऋण गरी सार्वजनिक ऋण परिचालन रु.३ खर्ब ३४ अर्ब ६२ करोड रहेको छ । यस अवधिमा अनुदान र ऋण गरी कुल वैदेशिक सहायता प्रतिबद्धता ११९.४ प्रतिशतले वृद्धि भई रु. २ खर्ब २२ अर्ब पुगेको छ।
२०८१ फागुनसम्म आन्तरिक ऋण रू.१३ खर्ब १५ अर्ब ५८ करोड र बाह्य ऋण रू.१३ खर्ब ६० अर्ब ४६ करोड गरी सरकारको सार्वजनिक ऋण रू.२६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ।
बाह्य क्षेत्र
चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु निकासी ५७.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ५८ अर्ब १७ करोड र वस्तु पैठारी ११.२ प्रतिशतले वृद्धि भई रु.११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । गत आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ४.० प्रतिशत र वस्तु पैठारी २.७ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले बढेर रु. ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ।
वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको सङ्ख्या २०८१ फागुनसम्म ६४ लाख नाघेको छ । चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको सङ्ख्या ३ लाख १७ हजार ६३ रहेको छ। यस अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर रु.१० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । यस अवधिको विप्रेषण आय अमेरिकी डलरमा ७ अर्ब ७४ करोड रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म (अगष्ट २०२४ देखि मार्च २०२५ सम्म) नेपाल आएका पर्यटकको सङ्ख्या १.७ प्रतिशतले बढेर ७ लाख ९८ हजार ५ सय १० रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७ लाख ८५ हजार ३ सय ६२ रहेको थियो । यस अवधिमा विदेशी पर्यटकबाट प्राप्त भएको भ्रमण आय ९.७ प्रतिशतले बढेर रु.५६ अर्ब ७० करोड पुगेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो आय रु.५१ अर्ब ६९ करोड रहेको थियो। सन् २०२४ मा पर्यटकको औसत बसाई १३.३ दिन र प्रति पर्यटक प्रति दिन औसत खर्च ४०.८ अमेरिकी डलर रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म चालु खाता रु. १ खर्ब ८० अर्ब ८ करोड र शोधनान्तर स्थिति रु. ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ६७ अर्ब ४५ करोड र शोधनान्तर स्थिति रु.३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।
२०८१ असारमसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुनमसान्तमा रु.२४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ। यो सञ्चिति १७.२ महिनाको वस्तु पैठारी र १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ फागुनमसान्तमा १७ अर्ब २७ करोड रहेको छ ।
वित्तीय क्षेत्र
२०८१ फागुनसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी १०७ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । देशका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना भएको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै गएको छ।
२०८१ फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता ५ करोड ८३ लाख ९९ हजार, कर्जा खाता १९ लाख ३७ हजार, मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता २ करोड ६७ लाख ५७ हजार र इन्टरनेट बैंकिङ्ग सेवाका प्रयोगकर्ता २१ लाख ४१ हजार रहेका छन्।
२०८१ फागुनमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्याका आधारमा प्रति शाखा जनसङ्ख्या औसत २,५२७ पुगेको छ। यस्तो जनसङ्ख्या २०८१ असारमा २,५२४ रहेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८१ फागुनमसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशतले वृद्धि भई रु.६७ खर्ब २९ अर्ब ६२ करोड पुगेको छ । २०८० फागुनमसान्तमा यस्तो निक्षेप रु. ६१ खर्ब ४५ अर्ब ८८ करोड रहेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८१ फागुनमसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले वृद्धि भई रु. ५३ खर्ब ७८ अर्ब ७८ करोड पुगेको छ। २०८० फागुनमसान्तमा यस्तो कर्जा रु. ४९ खर्ब ९६ अर्ब ५३ करोड रहेको थियो।
२०८१ फागुनमा वाणिज्य बैङ्कले निक्षेपमा प्रदान गर्ने तथा कर्जामा लिने भारित औसत ब्याजदर क्रमशः ४.५४ प्रतिशत र ८.४० प्रतिशत रहेको छ । २०८० फागुनमा यस्तो ब्याजदर क्रमशः ६.७४ प्रतिशत र १०.७८ प्रतिशत रहेको थियो ।
बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०८० पुसमा ३.७३ प्रतिशत रहेकोमा वृद्धि भई २०८१ पुसमा ४.९२ प्रतिशत पुगेको छ। वार्षिक बिन्दुगत आधारमा २०८१ फागुनमसान्तमा विस्तृत मुद्राप्रदाय ९.९ प्रतिशत र सङ्कुचित मुद्राप्रदाय ३.३ प्रतिशतले बढेको छ । २०८० फागुनमसान्तमा यस्तो वृद्धिदर क्रमशः १४.२ प्रतिशत र ३० प्रतिशत रहेको थियो ।
नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६.४९ विन्दु कायम भएको छ । २०८० फागुनमसान्तमा नेप्से सूचकाङ्क २१०८.७२ विन्दु कायम रहेको थियो । धितोपत्र बजारको कुल बजार पुँजीकरण २०८० फागुनमसान्तमा रु.३३ खर्ब १४ अर्ब रहेकोमा २०८१ फागुनमसान्तमा ३७.१ प्रतिशतले वृद्धि भई रु. ४५ खर्ब ४३ अर्ब पुगेको छ।
२०८१ फागुनसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित ४४.१७ प्रतिशत जनसङ्ख्यामा जीवन बीमाको पहुँच पुगेको छ । २०८१ असारसम्म यस्तो पहुँच ४३.२७ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म बीमा प्रिमियम सङ्कलन गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा १०.६ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३८ अर्ब ५ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्कलन रु. १ खर्ब २४ अर्ब ८६ करोड रहेको थियो ।
कृषि क्षेत्र
कृषि बालीको उत्पादन र क्षेत्रफल दुवैमा खाद्यान्न बालीको हिस्सा उच्च रहँदै आएको छ । चालु आर्थिक वर्ष कुल बाली उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४५.५२ प्रतिशत, तरकारी १८.५९ प्रतिशत, नगदेबाली १५.१५ प्रतिशत, औद्योगिक बाली ११.४७ प्रतिशत, फलफूल ५.९३ प्रतिशत र अन्य बाली ३.३४ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कृषि बाली लगाइएको क्षेत्रफलमध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल ७०.९६ प्रतिशत रहेको छ । त्यसैगरी, नगदेबाली ९.९८ प्रतिशत, तरकारी ६.९६ प्रतिशत, दलहन बाली ५.६१ प्रतिशत र अन्य बाली ६.४९ प्रतिशत रहेको छ।
संघीय आयोजनाबाट २०८१ फागुनसम्म १५ लाख ७३ हजार ५ सय ५९ हेक्टर जमीनमा सिँचाइ सुविधा विस्तार भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म २ लाख ६२ हजार ९ सय ३० मेट्रिक टन मल आयात भएको छ । गत आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थि वर्षको फागुनसम्म २ लाख ८५ हजार ७ सय मेट्रिक टन मल अनुदानमा वि वितरण गरिएको छ भने ८१ हजार ५ सय मेट्रिक टन मल मौज्दात रहेको छ।
वन क्षेत्रले ६३ लाख ९९ हजार ३ सय ४१ हेक्टर र झाडीबुट्यान क्षेत्रले ३ लाख ९७ हजार ९ सय १६ हेक्टर भू-भाग ओगटेको छ । यसमध्ये कुल भू-भागको ४३.३८ प्रतिशत वन र २.७० प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल क्षेत्रफल ४६.०८ प्रतिशत रहेको छ ।
उद्योग क्षेत्र
उद्योग विभागबाट रु.३२ खर्ब ४८ अर्ब र लगानी वोर्ड नेपालबाट रू.१५ खर्ब १८ अर्ब गरी २०८१ फागुनसम्म रू.४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म रु. ३ खर्ब १२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म रू.४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। यस्तो स्वीकृत लगानी गत आर्थिक वर्षको सोही अवधिमा रु.२९ अर्ब १३ करोड रहेको थियो । २०८१ फागुनसम्म रू. ५ खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भई ३ लाख ३९ हजार ६ सय ७५ रोजगारी सिर्जना भएको अनुमान छ ।
राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा २०८१ फागुनमसान्तमा १० हजार ५ सय १० मेट्रिक टन र बफर स्टक एवम् सार्क खाद्य सुरक्षा बैङ्कमा १८ हजार ५ सय १० मेट्रिक टन खाद्यान्न मौज्दात रहेको छ । २०८१ फागुनसम्म पेट्रोल, डिजेल, मट्टितेल र ए. टि. एफ. को भण्डारण क्षमता १ लाख २ हजार १ सय ६४ किलोलिटर रहेको छ ।
विद्युत उत्पादन
२०८१ फागुनसम्म कुल जडित विद्युत क्षमता ३,६०२ मेगावाट रहेको छ । वैकल्पिक ऊर्जासहित विद्युत पहुँच ९९.० प्रतिशत जनसङ्ख्यामा पुगेको छ। चालुआर्थिक वर्षको फागुनसम्म भारततर्फ १,७७५ गिगावाट घण्टा बराबरको निर्यात भएको छ भने ९२९ गिगावाट घण्टा विद्युत आयात भएको छ ।
२०८१ फागुनसम्म औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रका ४४६ र स्वरोजगार क्षेत्रका ३०७ गरी २० लाख ७९ हजार ४ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्। यस अवधिसम्म २० हजार २ सय ४४ रोजगारदाता सूचीकृत भएका छन्।
सूचना प्रविधि
सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ । ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६,५६६ वडा केन्द्रमा बिस्तार भएको छ । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ । डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ।
भौतिक पूर्वाधार
संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी २०८१ फागुनसम्म १९ हजार १ सय ६३ किलोमिटर कालोपत्रे, ८,२०४ किलोमिटर खण्डास्मित र ८,७६५ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ।
२०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत, सुरक्षित खानेपानी ( उच्च मध्यमस्तर ) सेवाको पहुँच पुगेको जनसङ्ख्या ५० प्रतिशत र आधारभूत सरसफाइ सुविधाको पहुँच पुगेको जनसङ्ख्या ९५.५ प्रतिशत रहेको छ।
शिक्षा तथा स्वास्थ्य
२०८१ फागुनसम्म सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ८,७४६ पुगेको छ जसमध्ये अस्पताल ३४५, प्राथमिक स्वास्थ्य केन्द्र १४९, स्वास्थ्य चौकी ३,७४२ र अन्य स्वास्थ्य संस्था ४,५१० रहेका छन् । नेपालमा प्रति हजार जनसङ्ख्यामा १.१ चिकित्सक र २.८६ नर्स रहेका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौलासम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन्। कुल बीमित जनसङ्ख्याको ४९.२ प्रतिशतले स्वास्थ्य बीमा सेवा लिएका छन्।
शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १-८) को खुद भर्नादर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९-१२) को खुद भर्नादर ५५.८ प्रतिशत पुगेको छ । शैक्षिक सत्र २०८१ मा कक्षा ८ सम्मको टिकाउ दर ८६.५ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६६.९ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ४०.६ प्रतिशत पुगेको छ।
सामाजिक सुरक्षा
चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको छ । गत आर्थिक वर्ष यस्तो सङ्ख्या ३८ लाख २९ हजार ४ यस ७३ रहेको थियो ।
२०८१ फागुनसम्म १ करोड ६९ लाख ४२ हजार ४ सय ३१ नागरिकको वैयक्तिक र जैविक विवरण सङ्कलन भई २२ लाख १२ हजार १९ राष्ट्रिय परिचय पत्र वितरण भएको छ।
मुलुकलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ग्रे- लिष्टको सूचीबाट यथाशीघ्र बाहिर ल्याउन ग्रे-लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ लागू भएको छ। यस अन्तर्गत मूख्यतः राष्ट्रिय जोखिम मूल्याङ्कन, सम्पत्ति शुद्धीकरणको अनुसन्धान र वित्तीय/गैरवित्तीय क्षेत्रका सूचक संस्थाको जोखिममा आधारित सुपरीवेक्षणलाई उच्च प्राथमिकता दिइएको छ।
निजामती सेवामा महिलाको सङ्ख्या २०६५ असारसम्म १२.० प्रतिशत रहेकोमा २०८१ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको सङ्ख्या २९.२ प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्षमा किरिबाटीसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भई २०८१ फागुनसम्म कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको सङ्ख्या १८३ पुगेको छ। सन् २०२४ मा भएको त्रिवर्षीय समीक्षामा पहिलो पटक प्रतिव्यक्ति कूल राष्ट्रिय आय सूचकाङ्कको मापदण्ड समेत नेपालले पूरा गरेको छ । यससँगै विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि निर्धारित तीन वटै मापदण्डमा नेपाल योग्य भएको छ ।
दिगो विकास लक्ष्यको उपलब्धि मापन गर्ने उत्पादनशील क्षमता सूचकाङ्क (PCI) मा नेपालको औसत स्कोर ४०.४ रहेको छ। अतिकम विकसित राष्ट्रको औसत सूचकाङ्क ३०.९ छ भने अन्य विकासशील राष्ट्रको औसत सूचकाङ्क ४६.८ रहेको छ।
समग्रमा चालु आर्थिक वर्ष आर्थिक क्रियाकलापमा भएको विस्तारले मुलुकको अर्थतन्त्र थप गतिशील बन्दै गएको छ । आर्थिक वृद्धिदर बढ्ने अनुमान छ भने उपभोक्ता मुद्रास्फीति वाञ्छित सीमाभित्र नै रहेको छ । विगतमा प्रायः वर्षहरूमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएकोमा आर्थिक वर्ष २०७९/८० देखि भने यस्तो योगदान पुनः बढेको छ। प्रतिव्यक्ति आय बढेको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश उच्च रहेकोले गार्हस्थ्य बचत न्यून रहेको छ।
प्रतिक्रिया दिनुहोस्