महासङ्घमा जिल्लानगरमा रहेका साना तथा मझौला व्यवसायीहरूको आवाज बन्ने छु


दीपक नेपाल, पाँचथर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । विसं.२०६० देखि उद्योग वाणिज्य सङ्घ पाँचथरबाट सक्रिय बनेका नेपाल अहिले नेपाल अलैँची व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्ष समेत हुन् । झण्डै २३ वर्षदेखि नेपाल उद्योग वाणिज्य सङ्घसँग सम्बन्धित रहेर क्रियाशील नेपालले दोस्रो कार्यकालका लागि केन्द्रीय कार्यकारिणी समिति सदस्यको उम्मेदवारी दिएका छन् । जिल्लानगरको तर्फबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यका उम्मेदवार नेपालसँग टक्सार न्युजले चुनावी मुद्दामा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

नेपाल उद्योग वाणिज्य महासङ्घमा वर्तमान केन्द्रीय कार्यकारिणी समिति सदस्य हुनुहुन्छ । फेरि दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएको छ । यहाँले उम्मेदवारी दिइरहँदा आजका दिनमा जिल्लानगरका मुद्दा केके हुन् ?

मूलभूत रूपमा मैले जिल्ला–नगरबाट, खासगरी पूर्वपहाडी जिल्लासहितको मैले प्रतिनिधित्व गर्दै आइरहेको छु ।

व्यावसायिक समस्याहरू त सबैतिर प्रायः एकै प्रकृतिका छन् । व्यवसायीको हकहितको लागि स्थापना भएको संस्थाका हिसाबले व्यवसायीका आवाजलाई केन्द्रसम्म जोड्ने गरी काम गरिरहेको छु । उद्योग वाणिज्य महासङ्घमा ठुला घरानाको मात्र प्रतिनिधित्व हुन्छ भन्ने खालको एक आरोप पनि लाग्ने गर्छ । विशेषगरि साना तथा मझौला व्यवसायीहरूको प्रतिनिधिको रूपमा आफूलाई सम्झेको छु ।

जिल्ला–नगरका समस्याहरू भनेको पछिल्लो दिनमा व्यापार मेलाहरू जुनसुकै क्लबले गर्ने देखिएको छ । यसलाई उद्योग वाणिज्य सङ्घको ब्रान्डिङको रूपमा स्थापित हुनुपर्छ भन्ने विषय छ । यहाँ देखिने समस्याहरू भनेको भन्सारबाट छुट्ने सामानमा देखिएको समस्याको मार साना व्यवसायीहरूले खेप्ने गरेका छन् ।

अनुगमन हुँदा व्यवसायी पीडित हुनुपर्छ । कुनै पनि वस्तु उत्पादनकर्तादेखि आयातकर्ता हुँदै जिल्लासम्म आइपुग्छ तर सामानमा कुनै समस्या देखियो भने जिल्लामा उद्योगी व्यवसायीले दुःख पाउँछन् । जिल्ला–नगरलाई उद्योग वाणिज्य महासङ्घको केन्द्रसँग जोड्ने म प्रतिनिधि पात्र हुन्छु भन्ने हिसाबले फेरि उम्मेदारी दिने निर्णय गरेका हुँ ।

एक कार्यकालको त तपाईँसँग अनुभव छ । एक कार्यकालको अनुभवले जिल्लानगरका समस्या महासङ्घको केन्द्रमा कति छलफल हुने र मुद्दाहरू सरकारसम्म पुग्ने रहेछ ?

स्वभावैले क्षेत्रगत उपस्थिति हुनु र नुहुनुमा केही अन्तर त हुन्छ नै । यद्यपि, महासङ्घको केन्द्रमा नीतिगत विषयहरूले बढी प्राथमिकता पाउँछ ।

पदाधिकारी बैठकमै सबै कुरा टुङ्गिने हुँदा मैले जे अपेक्षा गरेको थिएँ, त्यो तहको प्रतिफलचाहिँ प्राप्त गर्न सकिनँ । पछिल्लो विधान परिवर्तनपछि जिल्ला नगरको उपस्थितिको सुनिश्चितता लगायतले फरक पार्ने छ नै ।

उद्योग वाणिज्य महासङ्घमा ठुला घरानाको मात्र प्रतिनिधित्व हुन्छ भन्ने खालको एक आरोप पनि लाग्ने गर्छ । विशेषगरि साना तथा मझौला व्यवसायीहरूको प्रतिनिधिको रूपमा आफूलाई सम्झेको छु-दीपक नेपाल, केन्द्रीय कार्यकारिणी समिति सदस्य उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासङ्घ

महासङ्घलाई जिल्लासँग जोड्ने विषयमा उपस्थिति हुनुले अर्थ राख्दो रहेछ भन्ने महसुस गरे र अब दोस्रो कार्यकाललाई थप आफ्ना प्रभावकारी बनाउने गरी लाग्ने छु ।

महासङ्घमा जिल्ला–नगरबाट वर्तमान कार्यकालसम्म एकजनामात्रै उपाध्यक्ष हुनुहुन्थ्यो अब संसोधित नयाँ विधानअनुसार दुई जना उपाध्यक्षको उपस्थिति रहने छ । यसले पदाधिकारी तहमा सङ्ख्या बढ्ने भयो । यसको प्रभाव कस्तो होला ?

जिल्ला–नगरको क्षेत्र ठुलो र बृहत् छ । जिल्ला–नगर उद्योग वाणिज्य महासङ्घभित्रको एउटा शक्ति हो । यो गाउँगाउँसम्म नेटवर्क भएको संस्था भएकाले जिल्लानगरको दुईजना उपाध्यक्ष हुँदा भूगोललाई पनि प्रतिनिधत्व गराउन सहजता हुन्छ भन्ने हाम्रो बुझाई रह्यो । जिल्ला–नगरको उपस्थिति मताधिकारमा पनि ५० प्रतिशत हुनुको दुईजना उपाध्यक्षको अवधारणा आएको हो ।

पूर्वपश्चिम, फरक भूगोल, सङ्घीय राजधानी भित्र र सङ्घीय राजधानी बाहिर सबैलाई समेटेर जाँदा दुई जना जिल्लानगर उपाध्यक्ष केन्द्रमा हुनुले अर्थ राख्छ ।

विगतमा भूगोलमा पनि पहिला सबै जिल्ला प्रदेशहरूबाट प्रतिनिधित्व सुनिश्चित हुँदैन थियो । धेरै प्रदेशको उपस्थिति नहुने, कतिपय प्रदेशको उपस्थिति शून्य हुने, कुनै एउटै प्रदेशको मात्र धेरै उपस्थिति हुने अवस्था थियो ।

विगतका यस्तो कमजोरी सच्याउनका लागि हरेक प्रदेशबाट कम्तिमा दुई जना केन्द्रीय सदस्य सुरक्षित गरेर, भूगोलमा पनि सुरक्षित गरिएको छ । स्वभावैले प्रतिनिधित्वको अर्थ रहन्छ र सामुहिक आवाजमा बल हुन्छ । यो परिवर्तित विधानले जिल्लानगरलाई बलियो बनाएको छ ।

जिल्लानगरको मतभार धेरै तर केन्द्रीय नेतृत्वमा खासगरी अध्यक्षमा नेतृत्व पाएको देखिँदैन नि ?

अध्यक्षको रुपमा हेर्ने हो भने अहिलेसम्म जिल्ला नगरबाट एकै जना मात्रै पाएको अवस्था छ । आनन्दराज मुल्मी अध्यक्ष बन्नु भएको थियो । एसोसिएटहरू या वस्तुगत सङ्घबाटै धेरै अध्यक्ष पाउने अवस्था छ ।

अहिलेको अभ्यासले परिपक्व बनाउँदै लग्यो भने जिल्लानगरको बलले पनि भोलिको दिनमा नेतृत्वको सम्भावना टाढा रहन्छ भन्ने लाग्दैन । नेतृत्वमा धेरै मान्छेहरूले अवसर पाउँदा र विकास गर्दा सबल मान्छे चाहिँ उद्योग वाणिज्य महासङ्घको केन्द्रीय अध्यक्ष अध्यक्ष बन्नै नसक्ने भन्ने होइन । हामीहरूको सम्भावना नरहला तर जिल्लानगरको तर्फबाट प्रतिनिधित्व गर्ने हाम्रा अग्रजको सम्भावना मैले देखेको छु ।

नेपाल उद्योग वाणिज्य महासङ्घ छाता सङ्गठन हो । यसभित्र जिल्लानगर, एसोसिएट्स, वस्तुगत लगायतको प्रतिनिधित्व हुने गरि सङ्गठनात्मक संरचना छ । आन्तरिक रूपमा क्षेत्रगत उपस्थितिका बिच पनि आन्तरिक विवाद हुँदा महासङ्घले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भनेर टिप्पणी पनि हुने गर्छ नि ?

उद्योग वाणिज्य महासङ्घमा सबै व्यावसायिक क्षेत्रको प्रतिनिधित्व, क्षेत्राधिकार र प्रतिनिधित्व प्रणालीलाई लिएर केही न केही विवाद त हुन्छ होला नै तर जिल्ला, नगरपरिषद्, वस्तुगत परिषद् भएकोले आफ्ना विषयहरू आन्तरिक रूपमा छलफल चलाएर टुङ्याएर सामूहिक आवाजको हिसाबले आउँदा आपसी अन्तरद्वन्द्व हुन्छ जस्तो लाग्दैन र मैले आफ्नो पहिलो कार्यकालमा त्यस्तो पाएको छैन र यस्ता हुनु पनि हुँदैन ।

अलैँची व्यवसायी महासङ्घबाट प्रतिनिधित्व गर्नुहुन्छ । तपाईँले प्रतिनिधित्व गर्ने क्षेत्रका समस्या र मुद्दाहरू के के छन् ?

मैले अलैची व्यवसायी महासङ्घबाट प्रतिनिधित्व गर्छु । अलंैची पहिलेदेखि नै मुख्य निकासीजन्य वस्तुको रूपमा स्थापित थियो । यो पटक आफ्नै रेकर्ड तोडेर २०८२ चैत्र मसान्तसम्म १० अर्ब ७० करोड रूपैयाँ निकासी भएको तथ्याङ्क छ । यो वर्ष १२ अर्ब रूपैयाँ बराबरको निर्यात हुने अवस्था छ ।

अलैँची व्यवसायी महासङ्घ व्यवसायीको हकहितको स्थापना भएको संस्था भएता पनि यसको उत्पादनदेखि यसको निर्यातसम्म लगायत बिचका सबै तहहरूमा भ्यालु एडिसन, बजारीकरणका विषयहरूमा हामी जोडिन्छौँ र यी सबै तहमा समस्याहरू छन् ।

उत्पादन र उत्पादकत्व घटेर गएको छ । उत्पादनलाई प्रभावकारी ढङ्गले हेर्नुपर्ने अवस्था छ भने अलैँची नै भनेर अहिलेसम्म सरकारबाट, बैंकिङ क्षेत्रबाट कृषकले अथवा स्थानीय तहका सङ्कलकहरूले, जिल्ला तहका व्यवसायीहरूले अलैँची नै भनेर कर्जासम्म पाउने अवस्था छैन ।

यो प्राथमिक उत्पादन हो जुन नेपाली किसानहरूले उत्पादन गरेको र यति धेरै पैसा भित्र्याउने वस्तुलाई सरकारले प्राथमिकतामा राखे पनि प्रभावकारिता छैन । यस्तो सबै तहमा भएका समस्याहरूको लबिङ गर्न उद्योग वाणिज्य महासङ्घमा मेरो प्रतिनिधित्व हुँदा सबैलाई फाइदा हुनेछ ।

जिल्लानगरका समस्यासहित अलैंची क्षेत्रको समस्यालाई सम्बोधन गर्न र लबिङ गर्न महासङ्घलाई राम्रो प्लेटफर्म बनाउन सकिन्छ । राष्ट्रिय नीति निर्माणमा उद्योग वाणिज्य महासंघको प्लाटफर्म राम्रो रहन्छ भन्ने हिसाबमा मेरो भूमिका रहन्छ ।

अलैँची क्षेत्रबाटै राजकुमार कार्की पनि केन्द्रीय सदस्य हुनुहुन्छ र उहाँले फेरी उम्मेदवारी दोहोर्‍याउनु भएको छ । उहाँ महासङ्घको पूर्व अध्यक्ष र म बहालवाला अध्यक्ष भएको हिसाबले समन्वय गरेर महासङ्घमा थप काम गर्नेछौँ । उहाँले केन्द्रमा बसेर अलैंचीका साथै कृषि क्षेत्रमा निकै प्रभावकारी ढङ्गले काम गर्नुभएको छ । उहाँ र म दुवै जनाको महासङ्घमा हुने उपस्थितिले अझ बल पुग्ने छ भन्ने लाग्छ ।

चुनावी अभियानमा हुनुहुन्छ । यसमा केही भन्नुपर्ने केही छन् कि ?

पूर्वपश्चिम सबै क्षेत्रको प्रतिनिधित्व भयो भने मात्रै महासङ्घ साँच्चिकै बलियो बन्न सक्छ । यो हिसाबले समग्र कोशी प्रदेशसहित सबै क्षेत्रको प्रतिनिधित्व गरेर एक पटक फेरि केन्द्रीय कार्यकारिणी समितिमा उम्मेदवारी दिएको छु । यसपटक पनि मतदाताले अघिल्लोपटक जस्तै समर्थन हुने मेरो विश्वास छ ।