‘विश्व खाद्य स्वच्छता दिवस २०८२’, नेपालमा सप्ताहव्यापी रूपमा मनाउन सुरू


काठमाडौँ । ‘खाद्य सुरक्षामा विज्ञानको सक्रियता’ भन्ने नारासहित नेपालमा विश्व खाद्य स्वच्छता दिवस २०८२ सप्ताहव्यापी रूपमा मनाउन सुरू भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा जेठ १८ देखि २४ गते (१–७ जुन २०२५) सम्म देशभर विविध चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

सन् २०१९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ । यस दिवसले सुरक्षित र गुणस्तरीय खाद्यका लागि वैज्ञानिक पद्धति र सावधानी अपनाउनु आवश्यक छ भन्ने सन्देश दिन्छ। विभागले यस वर्षको मूल नारालाई आत्मसात् गर्दै खाद्य सुरक्षामा वैज्ञानिक दृष्टिकोणको उपयोगलाई प्राथमिकता दिँदै कार्यक्रमहरू अघि सारेको हो।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्कुलस्तरीय खेलकुद प्रतियोगिता (मिनिफुटबल, ब्याडमिन्टन, टेबलटेनिस), चित्रकला र वक्तृत्वकला प्रतियोगिता, पत्रकार सम्मेलन तथा अन्तर्क्रिया, सडक नाटक, जनचेतनामूलक सामग्री वितरण, ‘ह्याकाथन’ प्रतियोगिता, खाद्य बजार अनुगमन, सिफारिस समिति बैठक, नीति संवाद र अन्तरक्रियात्मक गोष्ठीहरू आयोजना गरिंदैछन्। प्रमुख शहरहरूमा होटल, रेस्टुराँ, फलफूल तथा तरकारी बजारमा खाद्य गुणस्तर परीक्षण तथा निगरानी पनि तीव्र पारिएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार खाद्य सुरक्षाको संवर्धनमा सबै पक्षको समन्वय र वैज्ञानिक आधारमा कार्यान्वयन अपरिहार्य छ। उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य श्रृंखला सुरक्षित बनाउन वैज्ञानिक प्रमाण र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ।

विश्व स्वास्थ्य संगठनका अनुसार दूषित तथा अस्वच्छ खाद्यका कारण विश्वभर करिब ६० करोड मानिस प्रभावित हुने गरेका छन्। नेपालमा पनि विषादी, एन्टिबायोटिक र दूषित पदार्थको प्रयोगका कारण उपभोक्ता स्वास्थ्यमा गम्भीर असर परिरहेको विभागले जनाएको छ।

दिवसको समापन यही जेठ २४ गते विशेष समारोहका साथ गरिनेछ। समापन कार्यक्रममा सप्ताहभर भएका गतिविधिको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्षका लागि रणनीतिक योजना निर्माणसम्बन्धी छलफल गरिनेछ।

खाद्य सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभागले सबै तहका सरकारी निकाय, निजी क्षेत्र, उद्योग व्यवसाय, उपभोक्ता समूह, सञ्चारमाध्यम, अनुसन्धान संस्था तथा नागरिक समाजसँग सहकार्यका लागि आग्रह गरेको छ।