काठमाडौँ । स्नातक तहका कलेजहरूबिच प्रतिस्पर्धा गराउने उद्देश्यसहित सायम कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता आगामी असार ११ गतेदेखि भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसल मैदानमा सुरू हुनेछ।
प्रतियोगितामा २४ देखि ३२ छात्र टिमको सहभागिता रहने अपेक्षा गरिएको छ। लिग कम नकआउट आधारमा तीन दिनसम्म सञ्चालन हुने खेलको मुख्य प्रायोजक एसी कम्पनी हाइसेन्स नेपाल रहेको छ। सायम कलेजका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः ९० हजार, ४० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीले ५ हजार र उत्कृष्ट डिफेन्डर, गोलरक्षक तथा गोलकर्ता मध्ये प्रत्येकले ३–३ हजार रुपैयाँ नगदसहित गिफ्ट भौचर प्राप्त गर्ने छन्। उत्कृष्ट प्रशिक्षकलाई ट्रफीसहित विशेष गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौं संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको सायमले यो फुटसल प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्