चितवनको नमूना विद्यालयमा छोरीलाई गैरकानुनी स्थायी नियुक्ति, पूर्व अध्यक्ष पौडेलसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौँ । चितवनको श्री नेपाल नमूना माध्यमिक विद्यालयमा भ्रष्टाचार गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

भ्रष्टाचार अनुसन्धान आयोगका अनुसार विद्यालयकी शिक्षिका विजया सुवेदीलाई नियमविपरीत स्थायी नियुक्ति दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा उनी (विजया) तत्कालीन अध्यक्ष तिलकराज पौडेलकी छोरी तथा तत्कालीन प्रधानाध्यापक बुद्धिराज सुवेदीकी श्रीमती भएको पाइएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूकै मिलोमतोमा आफूलाई लाभ पुग्ने गरी विद्यालय व्यवस्थापन समितिबाट नियमविपरीत विनियम निर्माण गरेर स्थायी नियुक्ति दिने निर्णय गरिएको थियो।

विद्यालयको स्रोतबाट नियुक्त गर्न सकिने भए तापनि स्थायी नियुक्ति दिने कानुनी अधिकार व्यवस्थापन समितिसँग नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्पष्ट राय रहेको जनाइएको छ। यद्यपि, तिलकराज पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा तथा प्रधानाध्यापक एवं समितिका सदस्य सचिव बुद्धिराज सुवेदीले आफूमा नभएको अधिकार प्रयोग गरी उक्त नियुक्ति गरेका थिए।

प्राप्त विवरणअनुसार मिति २०७८ भदौ ७ गते बसेको बैठकमार्फत नियुक्तिसम्बन्धी विनियम बनाइ शिक्षक सुवेदीलाई २०७८ साउन १ गतेदेखि लागू हुने गरी तृतीय श्रेणी सरहको सेवा सुविधा दिने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार शिक्षक विजया सुवेदीलाई प्रधानाध्यापक सुवेदीले स्थायी नियुक्ति पत्रसमेत प्रदान गरेका थिए।

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर ठहर गर्दै सम्बन्धित व्यक्तिहरूलाई कैद र जरिवाना हुने गरी सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

त्यस्तै, आफन्त लाभ हुने गरी आफूलाई स्थायी नियुक्ति दिने निर्णय गराउन लगाएको आरोपमा शिक्षिका विजया सुवेदीमाथि पनि सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरहको सजाय हुनुपर्ने माग गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।