१६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान


काठमाडाैँ । १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो ।

सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ । प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताए ।

उनले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिए। नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताए । नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने बताए ।

अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताए ।