स्थानीय तहको संख्या ५ सय बनाउन छलफल सुरू भएको छः सचिव भट्टराई


काठमाडाैँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन् । सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ ।

स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताए । उनले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताए । उनले यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके  मुलुकको अर्थतन्त्र बलियो हुने बताए ।
आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रुपमा संघीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको बताए ।