पानीजहाजकाे सञ्चालन तथा व्यवस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित


काठमाडौं । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए जसमा सांसदहरुले छलफल गरी प्रश्न गरेका थिए ।

मन्त्री दाहालले छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए। कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने उनले बताए । अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र वाह्य रुपमा पहुँच अभिवृद्धि गर्न धेरै बजेट माग नगरिएको बताए।

मन्त्री दाहालले जवाफ दिइसकेपछि पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव पेस गरे जसलाई सभाका बहुमत सदस्यहरुले समर्थन गरेका थिए । बहुमत सांसदहरुको समर्थनसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे।