भ्रष्टाचार विरुद्धको अभियान छोड्दैनौं, भिजिट भिसा प्रकरणमा पार्टीको समीक्षा आवश्यक छः श्रेष्ठ


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई दलहरुसँग भएको दुई बुँदे सहमतिको विषयमा पार्टीले समीक्षा गर्नुपर्ने बताएका छन्।

दोलखा-काठमाडौँ सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद सञ्चालनका लागि गरिएको सो सहमतिको प्रक्रिया पार्टी हितमा भए वा नभएकोबारे औपचारिक छलफल आवश्यक रहेको बताएका हुन्।

श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग यस विषयमा प्रत्यक्ष भेटघाट र संवाद नभएको उल्लेख गर्दै, अध्यक्षले समग्र परिस्थितिको मूल्यांकन गरी निर्णय लिएको हुनसक्ने धारणा राखे। तथापि, उनले माओवादी केन्द्रले भ्रष्टाचारको विषय छोड्ने नीतिमा नरहेको स्पष्ट पारे।

“संसद खोल्न दुई बुँदे सहमति भयो, सबैले देख्नुभयो। यसको विभिन्न प्रतिक्रिया आएका छन्। अध्यक्षसँग छलफल नभएकाले अहिले केही भन्न सक्दिन। तर यो विषयमा पार्टीले समीक्षा गर्नुपर्छ,” श्रेष्ठले भने, “भ्रष्टाचारको यस्तो स्तरका मुद्दा छाडिएको छैन, हामी छोड्दैनौं।”

श्रेष्ठले सुशासनका लागि भ्रष्टाचारविरुद्धको अभियान निरन्तर जारी रहने दाबी गरे। साथै, अन्य पक्षमा तत्कालीन कार्यनीति अनुसार केही निर्णय भएपनि त्यसको अन्तिम टुंगो पार्टीभित्रको छलफलबाट मात्रै हुने बताए।