काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालमा उद्योग खोल्न नदिनका लागि छिमेकी मुलुकले अनेक प्रपञ्च गरिरहेको बताएका छन्।
शनिबार एकीकृत समाजवादी युवा जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै महासचिव भुसालले भारतले नेपाली उद्योगलाई कमजोर बनाउन र रोजगारी सिर्जना हुन नदिन विभिन्न अवरोधहरू गर्दै आएको आरोप लगाएका हुन् ।
उनले भने,”नेपालीले ऋण बोकेको, हेपिएको, नाकाबन्दीमा परेको र अहिले पनि छिमेकी देशले हेप्ने क्रम नरोकिएको कुरा भारतको हातमा रहेको छ। भारतले नेपालमा उद्योग फस्टाउन नदिन अनेक कानुन बनाएर कच्चापदार्थमा बढी भन्सार लगाउने जस्ता कदम चाल्दै आएको छ। फलस्वरूप नेपालमा रोजगारी सृजना हुन सकेको छैन।”
भुसालले नेपालको अर्थतन्त्र दलाल पूँजीवादी चरित्रको भएको बताउँदै उद्योग र कृषिलाई अस्थिर बनाउने कारण पनि यही रहेको बताए। उनका अनुसार दलाल पूँजीवादी अर्थतन्त्रले बाहिरबाट सामान आयात गरेर बढी नाफा कमाउन खोज्छ, जसका कारण यहाँ उद्योग खोल्न दिइँदैन।
उनले सरकारले उद्योगलाई सहयोग गर्ने सट्टा प्रधानमन्त्री, अर्थमन्त्रीदेखि सांसदहरूसम्म प्रलोभनमा परेको आरोप पनि लगाए। साथै, आयातित सामान र कच्चापदार्थको भन्सारमा देखिने असमानताले उद्योगका लागि अनुकूल वातावरण नबनाएको बताए।
महासचिव भुसालले यस विषयलाई एकीकृत समाजवादीले मुख्य मुद्दाका रूपमा उठाउँदै उद्योग र रोजगारी वृद्धि गर्न सरकारसँग जोडदार माग राख्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्