ग्वार्को फ्लाईओभरबाट चार दिनपछि सवारी सञ्चालन हुने


ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभर अब चार दिनपछि सवारी साधन सञ्चालनका लागि खुला गरिने भएको छ। फ्लाईओभरको मुख्य संरचनाको निर्माण कार्य सम्पन्न भएपछि सवारी सञ्चालनको तयारी थालिएको हो।

आगामी असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोह सम्पन्न भएपछि सोही दिनबाट फ्लाईओभरमार्फत सवारी साधन सञ्चालन सुरू हुने सडक विभागले जनाएको छ।

यसअघि गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक विभागको टोलीसहित फ्लाईओभरको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि मन्त्री दाहालले सवारी सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीका अनुसार, मुख्य संरचनाको निर्माण सकिएपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेजस्ता कामहरू समेत पूरा भएका छन्। उनले हाल फ्लाईओभर सवारी सञ्चालनका लागि पूर्ण रूपमा तयार अवस्थामा रहेको जानकारी दिए ।

निर्माण कार्यमा समयमै प्रगति नभएपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण तथा अनुगमन गरेका थिए । निरन्तर दबाब र अनुगमनपछि अब अन्ततः फ्लाईओभर सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो।