‘नाडा अटो साे २०२५’ को उद्घाटनका लागि अर्थमन्त्री पौडेललाई निमन्त्रणा


काठमाडौँ । नाडा अटोमोवाइल्स एसाेसिएसन अफ नेपालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आगामी नाडा अटो साे २०२५ को उद्घाटन समारोहमा प्रमुख अतिथि बन्ने प्रस्ताव गरेको छ।

सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेलसँग भेट गर्दै भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गर्न औपचारिक अनुरोध गरेको हो।

भेटका क्रममा अध्यक्ष चौधरीले लामो समयपछि निजी क्षेत्रमैत्री बजेट आएको भन्दै यसको स्वागत गरे। उपाध्यक्ष राजनबाबु श्रेष्ठले पहिलो पटक सिमरामा स्थापना हुन लागेको सवारीसाधन म्यानुफ्याक्चरिङ उद्योगको सन्दर्भ उठाउँदै यस्ता उद्योगलाई प्रोत्साहन दिने नीतिगत स्पष्टता र स्थायित्व आवश्यक रहेको धारणा राखे। साथै, उनले नीति निर्माणमा दीर्घकालीन सोच ल्याउन आग्रह गरे।

छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको आग्रह सहर्ष स्वीकार गर्दै अटोमोबाइल व्यवसायीहरूले सरकारलाई राजस्व वृद्धिमा अझ प्रभावकारी रूपमा सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिमण्डलमा महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसाेसिएसनका सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो।