उत्पादन बढेपछि तरकारी सस्तो, व्यापारी र किसान दुवै घाटामा


काठमाडाैँ । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।

अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरू बताउँछन्। कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्युन भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताए ।

उनकाअनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको बताए । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिध्यिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना  छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैया, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई । 

तरकारी व्यापारी चेतबहादुर थिङले भने,”धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यती छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो,”उनले भने ।

व्यापारीहरूका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरूलाई ठूलोमात्रमा घाटा लागिरहेको उनीहरूको भनाइ छ । 

कालिमाटीमा व्यापार गर्दै आएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताइन् । उनले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताइन् ।

देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी विक्री नभएको कार्कीको बुझाइ छ । तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरूको भनाइ रहेको छ । 

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलवारका लागि लोकल गोलभेंडा २९, ठूलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैँया तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ ।  त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।